Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारथाइल्यान्डमा पनि उत्पादन हुनथाल्यो अस्ट्राजेनिका खोप

थाइल्यान्डमा पनि उत्पादन हुनथाल्यो अस्ट्राजेनिका खोप


बैंकक ।
कोरोनाभाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।

खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर चाहेजति उत्पादन नहुँदा देशका विभिन्न स्थानमा खोप अभियानमा असर परेको अधिकारीहरुले बताएका छन् ।

देशका विभिन्न अस्पताल र खोप केन्द्रहरुले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएका छन् ।

थाइल्यान्डमा सियाम बायोसाइन्सले अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको हो । सरकारले चालू जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ ।

थाई प्रधानमन्त्री प्रयुथ चान–ओचाले सोमबार संवाददाताहरुसँग कुरा गर्दै योजना बमोजिम नै खोप आपूर्ति हुने बताए । उनले राजधानी बैंककस्थित एउटा रंगशालामा व्यवस्था गरिएको खोप केन्द्रको निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।

प्रयुथको सरकारमाथि पर्याप्त खोप समयमै व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपयले सियाम बायोसाइन्समा बढी निर्भर भएका कारण सर्वसाधारणले समयमै खोप प्राप्त गर्न नसकिएको पनि बताएका छन् । सियाम बायोसाइन्सको स्वामित्व राजपरिवारका सदस्यको रहेको र खोप उत्पादनमा यसको पूर्व अनुभव नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

प्रधानमन्त्री प्रयुथले स्वास्थ्य मन्त्रालयले हरेक प्रान्तमा सोमबारदेखि नै खोप अभियान सुचारु हुने जानकारी गराएको बताए । हरेक क्षेत्रमा कोभिड–१९ को संक्रमणका आधारमा खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

थाइल्यान्डमा सन् २०२० को जनवरी यतादेखि हालसम्म एक लाख ८० हजारमा कोरोना संक्रमण देखिएको छ भने एक हजार २६९ जनाको ज्यान गएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत जनतालाई खोप दिइसक्ने लक्ष्य लिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया