Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा दुईवटा रेल जुध्दा कम्तीमा ४० जनाको मृत्यु

पाकिस्तानमा दुईवटा रेल जुध्दा कम्तीमा ४० जनाको मृत्यु


मुल्तान ।
पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ४० जना यात्रुको मृत्यु भएको छ । पाकिस्तानी अनलाइन डनले दुर्घटनामा सय जना यात्रु घाइते भएको जनाएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।

मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए ।

मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए । उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए ।

अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ४० जनाको मृत्यु भएको बताए । रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब ११ सय यात्रु सवार थिए । घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजुक रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया