Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तरिक्ष सयरमा निस्किँदै संसारकै धनी बेजोस

अन्तरिक्ष सयरमा निस्किँदै संसारकै धनी बेजोस


अमेरिका ।
संसारकै धनी जेफ बेजोसले आफ्नै लगानीको कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको न्यु शेपर्ड रकेटमा पहिलो अन्तरिक्ष यात्रीका रुपमा अन्तरिक्ष यात्रामा निस्किने भएका छन् ।

उक्त अन्तरिक्ष उडानको मिति जुलाई २० तोकिएको छ । यो भनेको अमेजनको सीईओबाट राजीनामा दिएको ठीक १५ दिनपछि हो । जेफ बेजोससँगै उनका भाइ मार्क बेजोसले पनि सँगै अन्तरिक्ष यात्रा गर्ने ब्लु ओरिजिनले जनाएको सीएनएनले उल्लेख गरेको छ ।

‘जब म ५ वर्षको थिएँ, अन्तरिक्ष यात्रा गर्ने सपना देख्थेँ’, ५७ वर्षीय बेजोसले सोमबार इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्, ‘जुलाई २० तारिखका दिन म भाइसँगै यात्रामा सरिक हुनेछु– ठूलो यात्रा, मेरो असल साथीसँगै ।’

योजनाअनुसार काम भए उनी रकेट प्रविधिबाट अन्तरिक्ष यात्रा गर्ने पहिलो अर्बपति हुनेछन् । बेजोस संसारकै धनी व्यक्ति हुन्। उनीसँग एक खर्ब ८७ अर्ब अमेरिकी डलर सम्पत्ति छ ।

उनी आफैँले दशौँ लाख डलर खर्चेर विकास गरेको रकेट प्रविधिबाट अन्तरिक्षको सयरमा निस्किन लागेका हुन् । अर्का अर्बपति एलन मस्कको स्पेस एक्सले अहिले धमाधम पृथ्वीको कक्षमा मानवसहितको रकेट पठाइरहेको छ । तर पनि मस्कले यस्तो योजना घोषणा गरेका छ्रैनन् ।

अर्का बेलायती अर्बपति रिचार्ड ब्रान्सनको भर्जिन गालाक्टिक कम्पनीले पनि धनीहरुलाई अन्तरिक्षमा लैजाने योजना बनाइरहेको छ । त्यसका लागि परीक्षण उडानको तयारी गरिरहेको छ । ब्रान्सनले पनि भर्जिन गालाक्टिकको रकेट पावर विमानको पहिलो यात्री बन्ने बताएका छन् तर उक्त उडान २०२१ पछि मात्रै हुनेछ ।

ब्लु ओरिजिनको उडान सदस्यहरु कम्पनीको छसिटे क्याप्सुलमा सयर गर्नेछन् । ५९ फुटे रकेट ११ मिनेटमा पृथ्वीबाट ६० माइलमाथि पुग्नेछ । छ वर्षयता कम्पनीले रकेट र क्याप्सुलको गोप्य परीक्षण गर्दै आएको छ । यसको नाम न्यु शेपर्ड राखिएको छ । गत मे महिनामा ब्लु ओरिजिनले क्याप्सुलमा पहिलो अन्तरिक्ष यात्री राख्ने तयारी भइरहेको जनाएको थियो ।

ब्लु ओरिजिनले एउटा सिटमा अक्सन गरेर विजेतालाई यात्रामा सहभागी गराउनेछ । सोमबारसम्म अक्सन मूल्य २८ लाख डलर नाघिसकेको छ । ब्लु ओरिजिन बेजोसले सन् २००० मा स्थापना गरेका थिए । यसले दर्जन बढी परीक्षण उडान गरिसकेको छ । बेजोसले अमेजन सन् १९९४ मा स्थापना गरेका थिए । सुरुमा यो किताब बिक्रेता थियो । बेजोस अहिले अमेजनका प्रमुख कार्यकारी हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया