Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलको नयाँ गोपनीयता सुरक्षा फिचरमा चीनलाई छुट

एप्पलको नयाँ गोपनीयता सुरक्षा फिचरमा चीनलाई छुट


अमेरिका ।
चर्चित स्मार्टफोन निर्माता एप्पलले नयाँ गोपनीयता सुरक्षा फिचर ल्याउने घोषणा गरेको छ । आफ्नो वार्षिक सफ्टवेयर डेभलपर सम्मेलनमा कम्पनीले उक्त घोषणा गरेको हो । यसमा ‘प्राइभे रिले’ नामको फंक्सन समेत छ । जहाँ प्रयोगकर्ताको वेब ब्राउजिङ क्रियाकलाप एप्पल, इन्टरनेट सेवा प्रदायक र विज्ञापनदाताबाट लुकाउन मिल्छ ।

एप्पलमाथि प्रयोगकर्ताको डेटा ट्र्याकिङलाई लिएर त्यसलाई हटाउन बढ्दो दबाब छ । तर नयाँ फिचर चीनका प्रयोगकर्तामा भने लागू हुनेछैन । चीन एप्पलको महत्वपूर्ण बजार हो । यसलाई एप्पलले नियामकीय कारण भनेको छ ।

निजी गोप्य मामिलालाई लिएर चीनमा एप्पलले लचकता अपनाएको यो पछिल्लो उदाहरण हो । चीनबाट एप्पलले कुलमध्ये १५ प्रतिशत आम्दानी गर्छ । चीनमा इन्टरनेटमाथि कडा नियन्त्रण छ । आफ्ना नागरिकमाथि चीनमा सरकारी निकायले निगरानी प्रणाली सञ्चालन गरिरहेको छ । त्यसो त यो फिचर साउदी अरेबिया र बेलारुसजस्ता अरु थुप्रै देशमा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो फिचरले ट्राफिक आफ्नो सर्भरमा पठाउँछ । जहाँ यस्ता सूचनासहितको आईपी ठेगाना हटाइन्छ । त्यसपछि त्यो फेरि दोस्रो थर्ड पार्टी सर्भरमा जान्छ जहाँ अस्थायी आईपी एड्रेस दिइन्छ र गन्तव्य वेबसाइटमा पठाइन्छ ।

एप्पलले बाहिरी पार्टीको प्रयोगको अर्थ कसैले पनि प्रयोगकर्ता को हो र उनीहरुले कस्तो साइट भिजिट गर्छन् भन्ने जानकारी पाउँदैन । विज्ञहरुले विज्ञापनदाताले समेत प्रयोगकर्ताको आईपी एड्रेस प्रयोग गर्न नसक्ने बताएका छन् । यद्यपि एप्पलले यसबारे अरु धेरै खुलाइसकेको छैन ।

बेलारुस, कोलम्बिया, इजिप्ट, काजकस्तान, साउदी अरेबिया, दक्षिण अफ्रिका, तुर्कमेनिस्तान, युगान्डा, फिलिपिन्स र चीनमा यो फिचर उपलब्ध नहुने बताइएको छ । उपलब्ध हुने देशमा भने यही वर्ष फिचर ल्याउने तयारी कम्पनीले गरेको छ ।

यसबाहेक एप्पलले अरु धेरै नयाँँ प्राइभेसी फिचर ल्याउने जनाएको छ । पछिल्लो आईफोन अपरेटिङ सिस्टम आईओएस १५ मा यस्ता फिचर आउनेछन् । यसबाट प्रयोगकर्ताले कुन एपले डेटा संकलन गरिरहेका छन् भन्ने थाहा पाउन सक्नेछन् । यो नयाँ फिचरले फेसबुक, गुगल र ट्विटरको टाउको दुःखाउनेछ । किनकि यी कम्पनीहरुले प्रयोगकर्ताको सूचना संकलन गरी विज्ञापन गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया