Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयो वर्ष आउने आईफोन १२ कस्तो हुनेछ ?

यो वर्ष आउने आईफोन १२ कस्तो हुनेछ ?


युरोप, माघ ३
स्मार्टफोन निर्माता कम्पनी एप्पलको अर्को स्मार्टफोन आईफोन १२ फाइभजी इन्टरनेट र भाँच्न मिल्ने प्रकृतिको हुने सम्बद्ध क्षेत्रका विज्ञले अनुमान गरेका छन् । आगामी सेप्टेम्बरमा बहुप्रतीक्षित फोन सार्वजनिक हुँदै छ । विज्ञहरुका अनुसार उक्त आईफोन अहिलेसम्मकै उच्च प्रविधियुक्त हुनेछ ।

नयाँ फोनले आईफोन ११ लाई विस्थापन गर्ने अनुमान गरिएको छ । द सनका अनुसार विज्ञहरुले एप्पलको गतिविधिलाई नजिकबाट नियालिरहेका छन् । सीसीएस इन्साइटका बेन वुडले सुपर साइकलका रुपमा आफूहरुले उक्त फोनलाई लिएको बताए । उनले भने, ‘फाइभजी प्रविधि नयाँ आईफोनमा उपलब्ध हुनेछ ।’ हाल विश्वका अधिकांश मोबाइल निर्माताले फाइभजी फोन उत्पादन सुरु गरिसकेका छन् । एप्पलका प्रतिस्पर्धी कम्पनीहरु सामसुङ, हुवावे र वानप्लसले यसअघि नै फाइभजी फोन ल्याइसकेका छन् । तर आईफोनले भने यो वर्षको अन्त्यतिरमात्रै फाइभजी मैत्री चिप्सहरु प्रयोग गर्नेछ ।

नयाँ आईफोनलाई लिएर विश्लेषकहरुले चिन्ता समेत व्यक्त गरेका छन् । खासगरी नयाँ र फरक किसिमको फाइभजी इन्टरनेटमत्रै फोन आयो भने यसले आईफोनलाई महंगो बनाउनेमा उनीहरुको चिन्ता रहेको छ । पीपी फोरसाइटका विश्लेषक पाउलो पेस्काटोरले नयाँ आईफोनले फाइभजीलाई ग्रहण गर्नेमा निश्चिन्त रहेको बताउँदै भने, ‘फाइभजीरहित आईफोन आयो भने आश्चर्य हुनेछ ।’

उनका अनुसार नयाँ आईफोनले सब ६ गिगाहर्ज र एमएमवेभ सपोर्ट गर्ने कि नगर्ने भन्ने मुख्य प्रश्न हो । त्यस्तै नयाँ आईफोनमा अहिलेभन्दा राम्रो प्रोसेसर हुने पाउलोको अनुमान छ । यसबाहेक धेरै स्टोरेज र उच्च सुधारयुक्त क्यामेरा हुनेमा पाउलो विश्वस्त छन् । त्यस्तै पाउलोले नयाँ आईफोन भाँच्न मिल्ने आउन सक्ने पनि बताए । भाँच्न मिल्ने फोनमा सामसुङ र हुवावेले पनि उत्तिकै चासो दिएका छन् ।

विज्ञहरुका अनुसार खासगरी एप्पलले यसै वर्ष वा नभए अर्को वर्ष यस किसिमको फोन सार्वजनिक गर्न सक्नेछ । फोल्डेबल अर्थात् भाँच्न सकिने फोन सर्वाधिक लोकप्रिय डिजाइनमा पर्ने भएकाले पनि एप्पलले त्यसलाई नबिर्सिने अनुमान गरिएको छ । फोल्डेबल स्मार्टफोनमा डिस्प्ले ठूलो हुन्छ । सामसुङले गत वर्ष ग्यालेक्सी फोल्ड सार्वजनिक गरे पनि तत्कालै रद्द गरेको थियो । टुटफुटको समस्याको कारण कम्पनीले केही दिनमै फोल्डेबल फोन रद्द गरेको थियो । हुवावेले पनि फोल्डेबल मेट एक्स लन्चमा ढिलाइ गरेको थियो ।

डिजाइनमा समस्याका कारण कम्पनीले भाँच्न मिल्ने फोन ल्याउन ढिलाइ गरेको थियो । एप्पलले भने यससम्बन्धी योजना हालसम्म सार्वजनिक गरेको छैन । यस्तै सामसुङले केही दिनमै विश्वको पहिलो फाइभजी ट्याब्लेटबारे जानकारी दिने अनुमान गरिएको छ । तर एप्पलको आगामी फोन अहिलेसम्मकै पातलो हुन सक्ने पनि बताइएको छ ।

के हो फाइभजी ? फाइभजी भनेको पाँचौँ पुस्ताको इन्टरनेट प्रविधि हो । यो सामान्यतया मोबाइल फोन नेटवर्कको अर्को भर्सन हो । नेटवर्क अपरेटरले फोनमा नयाँ तरिकाबाट इन्टरनेट प्रदान गर्न सक्छन् । साथै फाइभजीमार्फत द्रुततर गतिमा डाउनलोड गर्न सकिन्छ । हाल विश्वका केही नेटवर्क सेवाप्रदायकले यस्तो प्रविधि भित्र्याइसकेका पनि छन् । फाइभजी चलाउन आफ्नो फोनले फाइभजी सपोर्ट भने गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया