Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका–चीन सम्झौताले विश्व व्यापार युद्ध नरोक्ने

अमेरिका–चीन सम्झौताले विश्व व्यापार युद्ध नरोक्ने


वासिङटन, माघ ३
अमेरिकाले चीनसँग आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरे पनि विश्व व्यापारयुद्धलाई यसले नटार्ने देखिएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनाव सन् २०२० मा पनि जारी रहने देखिएको हो । बुधबार राति मात्रै चीन र अमेरिकाबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा चीनले अमेरिकी उत्पादन दोब्बरमात्रामा खरिद गर्ने उल्लेख छ ।

यो सम्झौतालाई लिएर राष्ट्रपति ट्रम्प अति नै उत्साहित देखिए पनि यसले विश्व व्यापारयुद्धलाई नरोक्ने निश्चितप्रायः छ । अमेरिकाले युरोपेली राष्ट्रहरुसँग समेत व्यापारिक असहमति सतहमै जाहेर गर्दै आएको छ भने कतिपय देशसँग नयाँ सम्झौताको लागि लबिङ गर्दै आएको छ । चीनसँग अर्को चरणमा मूल मद्दाहरुमा छलफल गर्न बाँकी नै रहेको अवस्थामा विश्व व्यापार युद्ध नरोकिने देखिन्छ ।

बेइजिङ र वासिङटन अब दोस्रो चरणको व्यापारवार्तामा प्रवेश गर्दैगर्दा पहिलो चरणभन्दा निकै जटिल र कठिन हुने देखिएको हो । युरोपेली संघ आफैँ अमेरिकासँगको व्यापार तनावमा कैद भएको छ । यही वर्ष बेलायतले युरोपेली संघ छाड्दै छ। बेलायतले युरोपेली संघ छाडेपछि ठूला निर्यात बजार ताक्नेछ । त्यस्तै, चीनसँग मात्रै हैन, ट्रम्प प्रशासनले विश्वका अन्य देशहरुसँग पनि व्यापारिक तनाव सृजना गरेको छ । युरोपेली देश फ्रान्सका २ अर्ब ४० करोड डलरका उत्पादनहरु चिज, ह्यान्डब्याग र वाइनहरुमा पनि कर लगाउने अमेरिकाको तयारी छ । फ्रान्सले डिजिटल सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनीविरुद्ध नयाँ कर लगाउने घोषणा गरेपछि अमेरिकासँग विवाद बढिरहेको छ ।

विशेषगरी फेसबुक, गुगलजस्ता कम्पनीहरु फ्रान्सको पछिल्लो कदमले प्रभावित हुने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कटु आलोचना गर्दै आएका छन् । ट्रम्पले नयाँ कर फ्रान्सलाई लगाइदिँदा युरोपेली संघ समेत आकर्षित हुनेछ । त्यसअघि नै युरोपेली संघ र अमेरिकाबीच तनाव सृजना भइसकेको छ । अक्टोबरमा ट्रम्प प्रशासनले युरोपेली वाइनमा २५ प्रतिशत कर थपेको थियो । संघले एयरबसलाई दिएको सब्सिडीको विरोधमा अमेरिकाले उक्त कर थपेको थियो । त्यस्तै, अमेरिकाले यसअघि नै युरोपेली स्टिल र आल्मुनियममा कर लगाइकेको छ भने जर्मन कारहरुमा पनि कर बढाउने चेतावनी दिएको छ ।

अतः सन् २०२० मा युरोपसँग यी विवाद समाधान गर्नु ट्रम्पको मुख्य प्राथमिकता हुने सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजका विज्ञ विलियम रेन्स्क बताउँछन् । अमेरिका र युरोपबीच ११ खर्ब डलरको वार्षिक व्यापार हुन्छ । यसबाहेक जनवरी ३१ मा बेलायतले युरोपेली संघ छोड्दा संघसँग व्यापार सम्झौता गर्नेछ । यस्तो सम्झौता यही वर्ष भइसक्नुपर्नेछ । नभए व्यापार अवरोधहरु हटाउनुपर्नेछ । धेरैजसो सम्झौताको लागि १ वर्षको समय लाग्ने गर्छ । त्यसकारण चीन र अमेरिकाबीच भएको पहिलो चरणको व्यापार सम्झौताले विश्व व्यापार युद्धलाई रोक्न नसक्ने देखिएको हो। सीएनएनबाट


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया