Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘सकेसम्म छिट्टै कोभिडविरूद्धको खोप लगाउनुहोस्’

‘सकेसम्म छिट्टै कोभिडविरूद्धको खोप लगाउनुहोस्’


वासिङटन ।
मुलुकमा कोभिड–१९ को संक्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् ।

अमेरिकी समयअनुसार सोमबार अपरान्ह् उहाँले ट्वीटरमार्फत सन्देश जारी गर्दै भने, ‘यदि तपाईं (अमेरिकी) नागरिकहरूले खोप लगाउनुभएको छैन भने विना कुनै ढिलाई खोप लगाउनुहोस् । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको छ । हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । संक्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन ।’ उनले संक्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको उनले बताए ।

अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ । संयुक्त राज्य अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उनले दाबी गरेका छन् ।
धेरैजसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड–१९ संक्रमणका कारण भएको मृत्युको संख्या उल्लेख्य रूपमा घट्दै छ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन ।

यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उनले अमेरिकामा कोरोनाभाइरसबाट अझै पनि औसत दैनिक तीन सय ७० व्यक्तिको मृत्यु भइरहेको बताएका छन् ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत वयष्क अमेरिकीहरूले खोपको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन । राष्ट्रव्यापीरूपमा १८ वर्षभन्दा माथिका करिब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया