Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थपिए ६२ हजार नयाँ संक्रमित

भारतमा थपिए ६२ हजार नयाँ संक्रमित


नयाँ दिल्ली  ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्यामा कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार दुई सय २४ जना कोरोनाभाइरसबाट थप संक्रमित भएका छन् । यो संख्या अघिल्ला दिनहरुभन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले संक्रमण घटेको जनाएको छ ।

पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले संक्रमितहरुको संख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । त्यसैगरी सक्रिय अवस्थामा रहेका संक्रमितहरुको संख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार चार सय ३२ रहेको छ । सक्रिय संक्रमितहरुको संख्या घटेर ७० दिनपछि अहिले पहिलोपटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा कोरोनभाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार एक सय पाँच पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार पाँच सय ७३ जनाको मृत्यु भएको देखिएको छ । तीमध्ये दुई हजार पाँच सय ४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार छ सय २८ जना संक्रमणमुक्त भएको पाइएको छ । योसँगै संक्रमणमुक्त भएकाहरुको कुल संख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार सात सय ९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया