Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना खोप किन्न एडीबीले बंगलादेशलाई ९४ करोड डलर ऋण दिने

कोरोना खोप किन्न एडीबीले बंगलादेशलाई ९४ करोड डलर ऋण दिने


ढाका ।
एसियाली विकास बैंकले कोरोना भाइरस संक्रमणविरुद्धको खोप किन्न बंगलादेशलाई ९४ करोड डलर ऋण दिने भएको छ । एडीबीले मंगलबार उक्त रकम ऋण दिने प्रस्ताव पारित गरेको डेलि स्टार अनलाइनले जनाएको छ । यो प्याकेज नियमित र आवधिक गरी ४७/४७ करोड डलरको रहेको बताइएको छ । एडीबीले प्रेस विज्ञप्तिमार्फत यसको पुष्टि गरेको छ । उक्त बैंकको नौ अर्ब डलरको एसिया प्रशान्त खोप पहुँच सुविधा कार्यक्रमअन्तर्गत यो ऋण दिन लागिएको हो ।

सन् २०२० को डिसेम्बरमा बैंकले यस्तो सुविधा दिने घोषणा गरेको थियो । बैंकले आफ्ना सदस्य राष्ट्रहरुलाई यस्तो सुविधा उपलब्ध गराउने भनेको थियो । खोप कार्यक्रमले भाइरस संक्रमणको सांग्लो चुडाल्ने र धेरै मानिसको ज्यान जोगाउने मात्र नभई अर्थतन्त्रमा पनि कोभिड प्रभाव न्यून गर्ने बैंकको विश्वास छ ।

साथै यो रकम स्वीकृत हुनु बंगलादेशलाई बैंकले निरन्तर सहयोग गरिरहेको उदाहरण भएको बैंकले जनाएको छ । यो परियोजनाबाट चार करोड ४७ लाख डोज खोप किन्न सकिने र सन् २०२४ सम्म दुई करोड बंगलादेशी यसबाट लाभान्वित हुने बैंकको विश्वास रहेको बताइएको छ ।

खोपहरु कोभ्याक्स कार्यक्रममार्फत वा राष्ट्रसंघीय बालकोष वा द्विपक्षीय रुपमा व्यवस्थापन हुनेछन् । बंगलादेशले यसअघि पनि खोप किनेर नागरिकलाई लगाउँदै आाएको छ । एडीबीले जुनमा २५ करोड डलर ऋण सहयोग गरेको थियो । सन् २०२० को मेमा पनि बैंकले ५० करोड डलर ऋण उपलब्ध गराएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया