Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएन्टि–भाइरसका रचयिता म्यकाफी जेलमै मृत भेटिए

एन्टि–भाइरसका रचयिता म्यकाफी जेलमै मृत भेटिए


वार्सिलोना ।
एन्टिभाइरस सफ्टवेयर उद्यमी जोान म्यकाफी स्पेनको बार्सिलोनास्थित जेलभित्रै मृत फेला परेका छन् । स्पेनको एक अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्न मञ्जुरीसहितको आदेश दिएको केही घण्टालगत्तै उनी मृत अवस्थामा फेला परेको बताइएको छ ।

उनीविरुद्ध अमेरिकामा करछली गरेको आरोप लागेको छ । द क्याटलान न्याय विभागले ७५ वर्षीय उनलाई बचाउन औषधोपचार गरे पनि सफल नभएको बताएको छ । जेलभित्रै उनले आत्महत्या गरेको अड्कल गरिएको छ ।

प्रविधि संसारमा उनी विवादित अनुहार थिए । उनको कम्पनीले पहिलो व्यावसायिक एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो । म्यकाफी भाइरस स्क्यानले कम्प्युटर संसारमा अर्बौँ डलरको उद्योगलाई सहयोग गरेको थियो । उक्त सफ्टवेयर प्रविधि कम्पनी इन्टेललाई सात अर्ब ६० करोड अमेरिकी डलरभन्दा धेरै मूल्यमा बिक्री गरिएको थियो ।

सन् २०२० को अक्टोबरमा टर्की जाँदै गर्दा उनी स्पेनमा समातिएका थिए । उनीमाथि चार वर्षसम्म करको विवरण नबुझाएको आरोप छ । उनले विभिन्न माध्यमबाट आर्जित लाखौँ सम्पत्तिको कर नतिरेको आरोप लागेको छ ।

कर नतिर्न उनले विभिन्न अन्य उपाय अपनाएको अमेरिकी न्याय विभागले जनाएको छ । त्यस्तै अरुकै नाममा सम्पत्ति आर्जन गरेको अभियोग पनि उनीमाथि लागेको छ । उनी बेलायतमा जन्मिएका थिए । सन् १९८० तिर उनले म्यकाफी भाइरस स्क्यान सार्वजनिक गरे । यद्यपि उनले कहिल्यै आफ्नो सफ्टवेयर आफ्ना कम्प्युटरमा प्रयोग नगरेको बताउँथे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया