Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु

तिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु


बेइजिड. ।
चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी सहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार सुरु भएको छ । चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा चार सय ३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल एक सय ६० प्रतिकिलोमिटर गतिमा गुड्नसक्ने व्यवस्था मिलाइएको छ ।

चिनियाँ मुख्य भूभागमा तीव्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेलसेवा सुरु गरेको छ । अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ । दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ रेलसेवाले जनाएको छ । यस तीव्र गतिको रेलमार्फत ल्हासाबाट यात्रुहरु शान्नान सहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्री सतहभन्दा तीन हजार मिटर माथि छ ।

यो रेलमार्ग सन् २०१४ मा निर्माण सुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्राक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो । ल्हासा–निङ्ची रेलमार्ग हाल निर्माणाधीन सिचुवान–तिब्बत रेलमार्गकै हिस्सा हो । यो रेलमार्गले ल्हासालाई छिमेकी सिचुवान प्रान्तको राजधानी चेङ्दुलाई जोड्नेछ । साथै दक्षिणपश्चिम युनान प्रान्त र तिब्बत जोड्ने प्रस्तावित रेलमार्ग पनि यी रेलमार्गमा आबद्ध हुनेछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया