Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य नियन्त्रण गर्ने सहमति

कच्चा तेलको मूल्य नियन्त्रण गर्ने सहमति


लन्डन । कच्चा तेल उत्पादन गर्ने राष्ट्रहरू मूल्य नियन्त्रणका लागि उत्पादन बढाउन सहमत भएका छन् । कच्चा तेलको मूल्यवृद्धिले विश्व अर्थतन्त्रमा दबाब सिर्जना भएसँगै यस्तो सहमति बनेको बीबीसीले उल्लेख गरेको छ ।

तेल निर्यात गर्ने देशहरूको संगठन ओपेक तथा रुसबीचको साझेदारीसँगै रुसले अगस्टदेखि आपूर्ति बढाउने भएको छ । महामारीका बेला साढे दुई वर्षसम्म मूल्य उच्च वृद्धि भएसँगै मूल्य नियन्त्रणको पहल भएको बताइएको छ । अहिले पेट्रोल पम्पहरूमा पनि इन्धनको मूल्य आकाशिएको छ । यो वर्ष ब्रेन्ट कच्चा तेल ४३ प्रतिशतले बढेर प्रतिब्यारेल ७४ अमेरिकी डलरसम्म पुगेको थियो ।

गत वर्ष ओपेक र यसका सहयोगी राष्ट्रले माग र मूल्य दुवै ह्वात्तै ओरालो लागेपछि एक करोड ब्यारेल प्रतिदिन उत्पादन कटौती गरेका थिए । तर यो वर्ष भने आर्थिक गतिविधि फेरि सुरु भएसँगै माग र मूल्य दुवै बढेको थियो । यसले केही देशमा महंगी समेत बढायो भने अर्थतन्त्रको पुनरुत्थानमा समेत ब्रेक लगायो ।

तेल उत्पादक राष्ट्रहरू उत्पादन कटौती हटाउने बाटो खोजिरहेका थिए । तर साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले गत जुलाईमा उक्त योजना तुहाउने चेतावनी दिए । रियादको उक्त प्रस्ताव आबुधाबीले ब्लक गरिदियो र मस्कोले २०२२ सम्म उत्पादन कटौती लम्ब्यायो । यसले ओपेकसहितका निर्यातक राष्ट्रबीच अस्वाभाविक झगडा गरायो । ओपेक प्लस राष्ट्रले विश्व आपूर्तिको ५० प्रतिशत हिस्सा ओगट्छ ।

नयाँ सहमतिअनुसार भने ओपेक र यसका साझेदार राष्ट्रले आपूर्ति प्रतिदिन दुई करोड ब्यारेल अगस्टदेखि यो वर्ष अन्तिम महिना डिसेम्बरसम्म पु-याउनेछन् । यसले बजारमा स्थिरता ल्याउने विश्वास गरिएको छ । २०२२ को मेदेखि यसका धेरै सदस्य राष्ट्रले धेरै उत्पादन गर्ने कोटा पाएका छन् । त्यसमा यूएई, साउदी अरेबिया, रुस, कुवेत र इराक छन् । २०२२ को सेप्टेम्बरमा गत वर्ष लागू गरिएको तेल उत्पादन कटौती हट्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया