Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा सूचीकृत चिनियाँ कम्पनीको सेयरमा १३ वर्षयताकै ठूलो गिरावट

अमेरिकामा सूचीकृत चिनियाँ कम्पनीको सेयरमा १३ वर्षयताकै ठूलो गिरावट


अमेरिका । अमेरिकी सेयरबजारमा सूचीकृत भएका चिनियाँ कम्पनीको सेयर मूल्यमा सन् २००८ को वित्तीय संकटयताकै ठूलो गिरावट आएको छ । बीबीसीका अनुसार चिनियाँ कम्पनीको सेयर मूल्यमा १३ वर्षयताकै ठूलो ह्रास आएको हो ।

अमेरिकामा सूचीकृत ९८ ठूला कम्पनीको सेयर अनुगमन गर्ने द नास्डाक गोल्डेन ड्रागनन चाइना इन्डेक्स पछिल्ला दुई कारोबार सत्रमा १५ प्रतिशतले घटेको थियो । गत फेब्रुअरीमा उच्च कीर्तिमान कायम गरेको उक्त इन्डेक्स अहिले ४५ प्रतिशतभन्दा धेरैले झरेको छ । चीनले आफ्ना प्रविधि र शिक्षा क्षेत्रका उद्योगहरुमा शृंखलाबद्ध रुपमा कडाइ थालेसँगै कम्पनीको सेयरमा त्यसको प्रभाव देखिएको हो ।

सेयर मूल्य घट्दा अमेरिकामा सूचीकृत चिनियाँ सेयर गत पाँच महिनायता सात खर्ब ७० अर्ब डलरको मूल्यांकनमा ह्रास आएको छ । चीनले एक सय २० अर्ब डलरको निजी क्षेत्रका ट्युटरिङ क्षेत्रमा ठूलो उथलपुथल गराएको छ । यसअनुसार सबै ट्युसन सेवा दिने संस्था गैरनाफामूलक संगठनका रुपमा दर्ता हुनेछन् । यी संस्थाले लगानीका लागि पब्किलमा जान समेत नपाउने भएका छन् ।

पब्लिकमा सूचीकृत कम्पनीले समेत यी क्षेत्रमा लगानी गर्न पाउनेछैनन् भने यस्ता संस्थामा विदेशी पुँजी पनि प्रतिबन्धित गरिएको छ । यसले अमेरिका, हङकङ र मूलभूमि चीनमा रहेका निजी शिक्षासम्बन्धी कम्पनीको सेयर बजार मूल्यलाई नोक्सानी पु-याएको छ ।

चिनियाँ अधिकारीहरुले खाद्य डेलिभरी एपदेखि म्युजिक स्ट्रिमिङ प्लेटफर्मजस्ता अनलाइन सेवामा पनि कडाइ सुरु गरेका छन् । गत सोमबार चीनको स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले नयाँ नियम जारी गरेको थियो । यसले डेलिभरी क्षेत्रमा काम गर्नेहरुको रोजगारी अवस्थामा सुधार ल्याउने दाबी गरिएको छ । यी क्षेत्रका कामदारले कम्तीमा न्यूनतम तलब पाउनुपर्ने, कार्यदबाब कम गर्नुपर्ने र राम्रो तालिम प्रदान गर्नुपर्ने नयाँ नियममा उल्लेख छ ।

चीनको उक्त कदमसँगै देशभित्रको ठूलो डेलिभरी एप मेइतुआनको हङकङ सेयर बजारमा सेयर मूल्यमा मंगलबार १७.६ प्रतिशत ह्रास आएको छ । त्यस्तै टेन्सेन्टको सेयर पनि मंगलबार हङकङमा नौ प्रतिशतले गिराववट आएको बताइएको छ । यही वर्षको सुरुतिर चिनियाँ इकमर्स कम्पनी अलिबाबाले दुई अर्ब ८० करोड डलर जरिवाना तिर्नुपरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया