अफगानिस्तान र पाकिस्तानमा राष्ट्रसंघीय सहायता संस्थाको सहयोग
संयुक्त राष्ट्रसंघ, माघ ९
अफगानिस्तान र पाकिस्तानका चिसो पीडित नागरिकहरुलाई संयुक्त राष्ट्रसंघीय संस्थाहरुले सहयोग गरिरहेको ती संस्थाले जनाएका छन् । चिसोका कारण समस्यामा परेका नागरिकलाई राष्ट्रसंघीय निकायहरुले सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले मङ्गलबार जानकारी दिएको छ ।सिन्ह्वाका अनुसार ती निकायहरुले दुई देशका चिसो पीडितलाई न्यानो कपडा, ज्याकेट, कम्बल एवं खाना उपलब्ध गराएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ । यी दुई देशमा हाल जारी रहेको हिमपात, बाक्लो हुुस्सु र शीत लहरका कारण कतिपय क्षेत्रका नागरिकलाई ठूलो समस्या परिरहेको छ ।
प्रवक्ता डुजारिकले यस्तो समस्यामा परेका नागरिकलाई संयुक्त राष्ट्रसंघीय कर्मचारीहरुकै उपस्थितिमा उद्धारको काम भएको र उनीहरुलाई सहायता सामग्रीहरु पनि प्रदान गरिएको जानकारी दिएको समाचारमा जनाइएको छ । पाकिस्तानको उत्तरी र दक्षिणी भूभागका कतिपय स्थानमा शीत लहर र हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसका कारण त्यहाँ कम्तीमा पनि १ सय २७ जनाको ज्यान गएको छ । ती नागरिकको ज्यान जानेक्रम जारी नै रहेको र केही स्थानमा चिसोबाट बच्नका लागि विभिन्न सहायता निकायहरुले उपायहरुका बारेमा पनि जानकारी गराउने गरेको उनले बताए । पाकिस्तानका ती क्षेत्रमा हिमपातका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ । हिउँले थिचेर घर भत्किएको समाचारमा जनाइएको छ ।
त्यसैगरी अफगानिस्तानमा पनि भारी हिमपात भएको छ । हिमपातपछि भएको वर्षापछि आएको बाढी र हिउँपहिरोका कारण यहाँका कम्तीमा पनि ११ वटा प्रान्त प्रभावित भएको छ । यहाँ बाढीले कैयौँ घर बगाएको छ । राजमार्गहरुमा हिउँले सवारी सञ्चालन हुन सक्ने अवस्था छैन । कतिपय बाटाहरु सेनाको प्रयासमा सफा गरिएको भए पनि यसबाट जनजीवन सामान्य हुन सकिरहेको छैन ।
प्राकृतिक प्रकोपको उद्धारमा खटिएका यहाँका सरकारी निकाय तथा सुरक्षाकर्मीहरुलाई संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संघसंस्थाका कर्मचारीहरुले पनि सघाएका छन् । अफगानिस्तानका ३४ मध्ये ११ वटा प्रान्तमा मानवीय सहायताको ठूलो खाँचो रहेको प्रवक्ता डुजारिकले जानकारी दिएका छन् । उनले यहाँका कैयौँ भूभागमा न्यानो कपडा र खाद्यान्न मात्र नभएर बस्नका लागि अस्थायी शिविर र पालको नै आवश्यकता रहेको जानकारी दिए । उनले यस्तो अप्ठ्यारो समस्यामा सहायताका लागि सबै क्षेत्र र स्थानबाट लाग्न पनि सबैलाई ट्वीटरमार्फत आग्रह पनि गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया