Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२५ वर्षपछि भारत छोड्दै फोर्ड

२५ वर्षपछि भारत छोड्दै फोर्ड


नयाँ दिल्ली । चर्चित अमेरिकी कार कम्पनी फोर्डले भारतमा कार उत्पादन गर्न छोड्ने भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतमा रहेका दुवै प्लान्ट बन्द गर्ने निर्णय गरेको हो । फोर्डले गुजरात र तमिल नाडु राज्यका दुई प्लान्टबाट कार उत्पादन गर्दै आएको थियो । अब उसले सन् २०२२ को दोस्रो त्रैमासिकदेखि ती प्लान्ट बन्द गर्ने जनाएको हो । यद्यपि उसले निर्यातको लागि कार इन्जिन बनाउने कामलाई चाहिँ निरन्तरता दिने जनाएको छ ।

बितेका वर्षहरूयता भारत छोड्ने फोर्ड पछिल्लो कम्पनी बनेको छ । सन् २०१७ मा जनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो । गत वर्ष हार्ले डेभिडसनले पनि विश्वकै ठूलो मोटरसाइकल बजारबाट उत्पादन बन्द गरेको थियो ।

कम्पनीहरूका यी निर्णयले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी उत्पादक भित्र्याउने महत्वाकांक्षामा ठेस लागेको छ । फोर्डका अनुसार भारतीय बजारमा सवारीसाधनकोा माग कमजोर भइरहेको छ भने बितेको दशकमा कम्पनीले दुई अर्ब अमेरिकी डलरभन्दा धेरै सञ्चालन नोक्सानी व्यहोर्नुपरेको छ ।

कम्पनीले भारतमा स्थानीय बजारलक्षित पाँच मोडलका कार उत्पादन गरिरहेको थियो । अब पनि कम्पनीले मर्मतसम्भार सेवालाई निरन्तरता दिने र अहिलेका ग्राहकलाई पार्टपुर्जा उपलब्ध गराई वारेन्टीलगायतका सेवासुविधा जारी राख्ने बताएको छ ।

फोर्डले भविष्यमा विद्युतीय एसयूभी र आइकोनिक ग्लोबल भेहिकलहरूमा कम्पनी केन्द्रित हुने जनाएको छ । तर ती सवारीसाधन भारतमा उत्पादन हुने नहुनेमा भने केही बताएको छैन । फोर्डले २५ वर्षयता भारतमा कार उत्पादन गर्दै आएको थियो । पछिल्लो समय प्रतिस्पर्धामा उत्रिन भने सकेको थिएन । यो समाचारसँगै कम्पनीको सेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया