Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलले सार्वजनिक ग-यो आईफोन १३ र आईप्याड मिनी

एप्पलले सार्वजनिक ग-यो आईफोन १३ र आईप्याड मिनी


अमेरिका । एप्पल इन्कले बहुप्रतीक्षित उत्पादन आईफोन १३ र नयाँ आईप्याड मिनी सार्वजनिक गरेको छ । मंगलबार कार्यक्रम गर्दै एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको हो । हरेक वर्ष आफ्ना नवीनतम प्रविधियुक्त उत्पादन सार्वजनिक गर्दै आएको एप्पलले यसपटक नयाँ उत्पादनमा पनि नवप्रवर्तनलाई विशेष जोड दिएको छ । सार्वजनिक गरिएका उत्पादनमा द्रुतगतिको फाइभजी प्रविधि छ । यसमा द्रुतगतिका चिप्स जडान छन् भने फोनको मूल्य नबढाईकनै उसले क्यामेरालाई अझै उत्कृष्टता प्रदान गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको आईफोन १३ मा कम्पनीले नयाँ ए१५ चिपको प्रयोग गरेको छ । यसले अक्षरहरु स्वतः अनुवाद गर्नसक्छ । त्यस्तै यसमा डिस्प्लेलाई अझै परिष्कृत गरी राम्रो बनाइएको छ भने पहिलेभन्दा लामो समयसम्म टिक्ने ब्याट्री राखिएको छ । यसबाहेक भिडिओ खिचिरहँदा स्वतः फोकस परिवर्तन हुने सिनेम्याटिक मोड राखिएको छ । एप्पलका अनुसार आईफोन १३ मा द्रुतगतिको लागि आवश्यक फाइभजी एन्टेना र रेडियो कम्पोनेन्टहरु छन् । यो आईफोन पाँच रंगहरुमा उपलब्ध हुने भएको छ । यसको सुरुवाती बजार मूल्य ६ सय ९९ अमेरिकी डलर मात्र छ । वयरलेस क्यारियरयुक्त फोन खरिदकर्ताले भने ७ सय अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी आईफोन १३ प्रोको सुरुवाती मूल्य ९ सय ९९ अमेरिकी डलर छ भने प्रो म्याक्सको सुरुवाती मूल्य १ हजार ९९ अमेरिकी डलर छ । यी तीनवटै मोडल सेप्टेम्बर २४ देखि अर्थात् अबको नौ दिनपछि बजारमा उपलब्ध हुनेछ । नयाँ आईफोनको मूल्य गत वर्षअनुसारकै हो । यसैबीच, एप्पलले आईप्याड मिनीको अपडेट गर्दै फाइभजी कनेक्टिभिटी र डिजाइन परिष्कृत गरी सार्वजनिक गरेको छ । हेर्दा खेरि यो आईप्याड एयर र प्रोमोडलका जस्ता देखिन्छ । यसलाई ‘सरप्राइजिङ एनाउन्समेन्ट’ मानिएको छ । फाइभजी कनेक्टिभिटीको कारण ग्राहकले यसलाई धेरै रुचाउनसक्ने मानिएको छ । तर यसको मूल्य भने बढेको छ । अब यसलाई किन्नेले एक सय अमेरिकी डलर बढी तिर्नुपर्ने हुन्छ ।

मूल्यसँगै यसका फिचरहरु पनि बढेको छ । कम्पनीका अनुसार एप्पल पेन्सिल र द्रुतगतिको चिप, ठूलो स्क्रिनजस्ता फिचर थप गरेको छ । यसमा बेस मोडल अपडेट गरी नयाँ क्यामेरा राखिएको छ । नयाँ आईप्याड मिनीको सुरुवाती मूल्य ३२९ अमेरिकी डलर र मिनीको ४ सय ९९ अमेरिकी डलर छ । यी आईप्याड अर्को हप्तादेखि बजारमा उपलब्ध हुनेछन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया