Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियाली अनलाइन डिजाइन प्लेटफर्म बन्यो विश्वकै ठूलोमध्येको निजी कम्पनी

अस्ट्रेलियाली अनलाइन डिजाइन प्लेटफर्म बन्यो विश्वकै ठूलोमध्येको निजी कम्पनी


ब्रिस्बेन । अस्ट्रेलियाको ग्राफिक डिजाइन कम्पपनी क्यान्भा विश्वका ठूला निजी कम्पनीमध्ये पर्न सफल भएको छ । कम्पनीको मूल्यांकन ४० अर्ब अमेरिकी डलर बनेको हो । क्यान्भाले महामारीका बेला यस्तो सफलता पाएको हो । कम्पनीले २० करोड डलरको ताजा लगानीबारे पनि खुलासा गरेको छ । यसले कम्पनीको मूल्यांकन पाँचै महिनामा दोब्बर भएको हो । विश्लेषकहरुका अनुसार योसँगै कम्पनी विश्वकै ठूलो मूल्यको स्टार्टअप बन्न सफल भएको छ ।

बिजनेस डेटा प्रदायक सीबी इन्साइट्सका अनुसार क्यान्भाको ४० अर्ब डलर मूल्यांकनले कम्पनी पाँचौँ ठूलो विश्वको स्टार्टअप बनेको छ । यो चीनको बाइटीडान्स, भुक्तानी सेवा प्रदायक स्ट्रिप, एलन मस्कको रकेट कम्पनी स्पेस एक्स र स्विडिस वित्तीय प्रविधि कम्पनी क्लार्नाभन्दा मात्रै पछि छ । योसँगै कम्पनीका सहसंस्थापकहरु समेत अस्ट्रेलियाको उच्च १० धनीमा परेका छन् ।

क्यान्भा सन् २०१३ मा सिडनीमा स्थापना भएको थियो । ३४ वर्षीया मेलानी पार्किन्स र ३५ वर्षीय क्लिब ओब्रेक्टले स्थापना गरेका थिए । उनीहरु दुवैले कम्पनीको ३६ प्रतिशत सेयर स्वामित्व लिएको फोब्र्स म्यागजिनले जनाएको छ । त्यसमध्ये ३० प्रतिशत सम्पत्ति दानमा खर्चिने उनीहरुले बुधबार घोषणा गरेका छन् । क्यान्भाले डिजाइन टेम्प्लेटहरु मानिसहरुलाई उपलब्ध गराउँछ । त्यसबाट मानिसहरुले ग्रिटिङ कार्ड, पोस्टरदेखि क्यालेन्डरसम्म बनाउन सक्छन् ।

कम्पनीका अनुसार एक सय ९० देशमा छ करोड प्रयोगकर्ता रहेका छन् भने यो वर्षको अन्त्यसम्म कम्पनीले एक अर्ब डलर आम्दानी गर्ने बाटोमा थियो । यसका पाँच लाख पेइङ कस्टुमर (पैसा तिर्ने प्रयोगकर्ता) छन् । तिनमा ठूला व्यावसायिक कम्पनीहरु जुम, सेल्सफोर्स, पेपाल, म्यारिएट इन्टरनेशनल र अमेरिकन एयरलाइन्स समेत यसका ग्राहक छन् । गत वर्ष उनीहरुले क्यान्भाको डिजाइन प्रविधिको प्रयोग पनि बढाएको कम्पनीले जनाएको छ । गत वर्षदेखि नै कम्पनीले आफ्नो कार्यबल दोब्बर बनाएको छ । सन् २०२१ मा मात्रै एक हजार थप रोजगारी सिर्जना गरेको छ । यसका मुख्यालय सिडनी र मनिलामा छन् । यो कम्पनी सन् २०१७ मा नाफामा गएको थियो । उसले त्यसको एक वर्षपछि एक अर्ब डलर मूल्यांकन भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया