कोरोना भाइरसका कारण चीनमा ५६ जनाको मृत्यु, दुई हजार प्रभावित
बेइजिङ, माघ १३
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएकामध्ये ३ सय २४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले भनेका छन्, ‘अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।’ यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।
उक्त संक्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि अधिकारीहरुले बताएका छन् । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ सहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।
संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस संक्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभर नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाइ छ ।
उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरु गर्न लागेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।
थप स्वास्थ्यकर्मी पठाइयो :- यसैबीच, चीनको मध्यक्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको संख्या बढ्ने क्रम नरोकिएपछि निदानको लागि औषधि, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी भएको अधिकारीहरूले जनाएका छन् । चीनमा कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्तिमा संक्रमण भएको चीनले पुष्टि गरिसकेको छ । चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ विरामीहरू उपचारपछि स्वस्थ भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले आइतबार एक पत्रकार सम्मेलनमा भने, ‘कोरोना भाइरसको संक्रमित बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६ सय स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ ।’ माका अनुसार आयोगले विशेषज्ञसहितको थप ९ सय स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४ सय ५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ ।
थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताए । निर्देशक माले भने, ‘हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधि, मास्क,पञ्जा, चश्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालहरूको आवश्यकता अनुसार पठाएको छ ।’ यसैबीच चीनले आगामी २० दिनभित्रमा कोरोना भाइरसको सङ्मणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले आइतबार बताएका छन् । चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले भने, ‘भाइरस संक्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा हामी विश्वस्त छौँ ।’
मानव शरीर क्रमशः जीवाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरस फैलिने क्रम अन्त्य गर्न सकिने सांघाईस्थित प्रमुख ‘मोलिकुलर भाइरोलोजी‘ प्रयोगशालाका प्राध्यापक वेनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया