Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारधेरै सम्पत्ति गुमाएर विश्व कीर्तिमान बनाउने अर्बपति कोलिन

धेरै सम्पत्ति गुमाएर विश्व कीर्तिमान बनाउने अर्बपति कोलिन


चीन । चिनियाँ अनलाइन व्यापार कम्पनी पिन्डुओडुओ इन्कका संस्थापक अर्बपति कोलिन हुआङ अहिले चर्चामा छन् । एकै वर्षमा धेरै सम्पत्ति गुमाउनेमा खराब विश्व कीर्तिमान बनाएका कारण उनी चर्चामा छाएका हुन् ।

ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार कोलिनको सम्पत्ति २७ अर्ब डलरले घटेको हो । चीनले प्रविधि कम्पनीहरुमाथि कडाइ गर्नथालेपछि कम्पनीको सेयर ह्वात्तै घट्दा कोलिनको सम्पत्ति घटेको हो । ब्लुमबर्ग अर्बपति सूचकांकका ५ सय सदस्यमध्ये कोलिनको घटेको सम्पत्ति सबैभन्दा धेरै हो । यो चीनकै एभरग्रान्डे ग्रुप प्रमुख हुई का यानले गुमाएको १६ अर्ब डलरभन्दा धेरै हो । यानको घरजग्गा व्यवसाय अहिले ऋणमा डुब्दै गएको छ । चिनियाँ राष्ट्रपति सी जिनसपिङले ‘साझा समृद्धि’को अभियान अघि सार्दा निजी क्षेत्रका कम्पनीहरु र अर्बपतिमा यसको उछाल देखिएको छ ।

यो वर्ष पिन्डुओडुओको सेयर अलिबाबा ग्रुप होल्डिङ लिमिटेड वा टेन्सेन्ट होल्डिंग्स लिमिटेडको तुलनामा धेरैले ओरालो लागेको छ । चिनियाँ नियामकीय कडाइपछि अलिबाबा र टेन्सेन्टजस्ता नाफादायक परिपक्व कम्पनीभन्दा पिन्डुओडुओ निकै असुरक्षित देखिएको हङकङस्थित एभरब्राइट सन हंग काई को.का सुरक्षा रणनीतिकार केनी एनजी बताउँछन् ।

अलिबाबाको एडीआरको ३३ प्रतिशतको तुलनामा पिन्डुओडुओको अमेरिकी डिपोजिटरी रिसिप्ट्स यो वर्ष ४४ प्रतिशतले घटेको छ । त्यस्तै टेन्सेन्टको हङकङ सेयरबजारमा सेयर मूल्य २० प्रतिशतले घटेको छ । पिन्डुओडुओमा कोलिनको २८ प्रतिशत सेयर स्वामित्व छ । उनले सन् २०१५ मा यो कम्पनी स्थापना गरेका थिए । कम्पनीले छिट्टै बजारमा सकारात्मक प्रभाव छोड्न सफल भएको थियो । गत डिसेम्बरमा कम्पनीका सक्रिय प्रयोगकर्ता नै ७८ करोड ८० लाख पुगेको थियो । उसले चर्चित कम्पनी अलिबाबालाई नै माथ दिएको थियो । त्यतिबेला अलिबाबाको अनलाइन मार्केटप्लेसमा सक्रिय प्रयोगकर्ता मात्र ७७ करोड ९० लाख थिए । अहिले कम्पनीको बजार मूल्यांकनमा समेत ठूलो गिरावट आएको थियो । यसअघि १ खर्ब ७८ अर्ब अमेरिकी डलरसम्म बजार मूल्यांकन पुगेको थियो । गत महिनामात्रै कम्पनीले पब्लिकमा गएपछि पहिलोपटक त्रैमासिक खुद नाफा भएको सार्वजनिक गरेको थियो ।

हाल कोलिन ३५ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक छन् । उनले गत वर्ष प्रमुख कार्यकारी अधिकृत र गत मार्चमा कम्पनीको प्रमुखबाट राजीनामा दिएका थिए । धेरै गुमाउनेमा परेका कोलिनको सम्पत्ति बढ्दा पनि २५ अर्ब डलरले बढेको थियो । चिनियाँ राष्ट्रपति सीले सम्पत्तिको खाडल पुर्ने अभियान अघि सारिरहँदा पिन्डुओडुओ पनि आर्जित नाफा दान गर्ने कम्पनीहरुको सूचीमा पर्छ । गत महिनामात्रै कम्पनीले देशको कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न डेढ अर्ब डलर खर्च गर्ने बताएको थियो । त्यसअघि गत वर्ष पिन्डुओडुओको फन्डिङ टिमले पनि दुई अर्ब ४० करोड डलरबराबरको कम्पनीको सेयर च्यारिटेबल ट्रस्टलाई दिएको थियो ।

अझ रोचक कुरा त ब्लुमबर्गको अर्बपति सूचकांकमा यो वर्ष धेरै सम्पत्ति घटेका १० ठूला अर्बपतिमध्ये ६ जना चीनकै रहेका छन् । तीमध्ये बोतलमा पानी बिक्री गर्ने कम्पनीका प्रमुख झोंग सान्सान पनि छन् । उनले १८ अर्ब डलर गुमाएका छन् । त्यस्तै धेरै सम्पत्ति गुमाउनेमा एभरग्रान्डेका हुई, टेन्सेन्टका पोनी मा (१० अर्ब डलर) पनि छन् । ती ६ जनाबाहेक अलिबाबाका सहसंस्थापक ज्याक माले यही वर्षमात्रै ६.९ अर्ब डलर गुमाएका छन् । ब्लुमबर्गबाट भावानुवाद ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया