Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले बेलायती भेडाको मासु आयात प्रतिबन्ध हटाउने

अमेरिकाले बेलायती भेडाको मासु आयात प्रतिबन्ध हटाउने


लन्डन । संयुक्त राज्य अमेरिकाले बेलायती भेडाको मासु आयातमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो घोषणा गरेका हुन् ।

योसँगै अब बेलायती किसानहरुले दशकयता पहिलोपटक भेडाको मासु अमेरिका निर्यात गर्न सक्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री जोन्सनले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता हुनलागेको भन्ने दाबीलाई भने अस्वीकार गरेको बताइएको छ । तर सरकारले बेलायती निर्यात प्रवर्द्धनको लागि व्यावहारिक कदम चाल्ने उनले बताए ।

अमेरिकाले सन् १९८९ यता बेलायतबाट भेडाको मासु र बिफ आयात गरेको छैन । म्याड काउ रोगले चिनिने बीएसईको संक्रमण फैलिएपछि अमेरिकाले बेलायतबाट ती मासु आयातमाथि प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष सेप्टेम्बरमै बेलायती बिफ आयातमाथिको प्रतिबन्ध हटिसकेको छ । यद्यपि भेडाको मासु कहिलेदेखि अमेरिकाले स्वीकार्नेछ भन्ने खुलेको छैन । अमेरिकी कृषि विभागले सन् २०१६ यता नै प्रतिबन्ध फुकुवाको तयारी गरिरहेको थियो । अर्को वर्षदेखि मासु आयातको बाटो खुल्ने आशा बेलायतले गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया