Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकी राष्ट्रपतिभन्दा धेरै तलब खान्छन् सिंगापुरका प्रधानमन्त्री ली

अमेरिकी राष्ट्रपतिभन्दा धेरै तलब खान्छन् सिंगापुरका प्रधानमन्त्री ली


काठमाडौँ । धेरै अर्बपतिको समाचार पढिरहँदा हामीलाई सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक पैसा कमाउँछन् भन्दा अचम्म लाग्नसक्छ तर यो सत्य कुरा हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार विश्वमा केही प्रधानमन्त्री र राष्ट्रपति छन्, जो मनग्य तलब लिइरहेका छन् । अमेरिका, सिंगापुर, हङकङ लगायतका राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख कार्यकारीहरुले धेरै तलब लिने गरेका हुन् ।

कसले कति खान्छन् ?
१. ली सिन लुङ

No description available.
ली सिंगापुरका प्रधानमन्त्री हुन् । उनी वार्षिक रुपमै १६ लाख अमेरिकी डलर बुझ्छन् । उनी ४३ हेक्टर (१०६ एकड) जमिनमा बनेको भव्य द इस्ताना कार्यालयमा काम गर्छन् । यो मलाया शैलीमा निर्माण भएको छ । तीनतले भवनले २१ सरकारी कार्यकाल र आठपटक राष्ट्रपतीय कार्यकालको सेवा गरेको छ । उनको तलब तौलिने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भन्दा १२ गुणा धेरै हो ।

 

२. क्यारी लाम

No description available.
हङकङकी यी प्रमुख कार्यकारीको तलब कति होला? उनको तलब अमेरिकी राष्ट्रपतिको भन्दा पनि धेरै छ । अर्थात् उनी वार्षिक ६ लाख ७२ हजार अमेरिकी डलर तलब बुझ्छिन् । उनी लेक्सस एलएस६००एच एल हाइब्रिड कारमा हुइँकिन्छिन् । कहिलेकाहीँ सन् १९९७ मर्सिडिज बेन्ज एस५००एल पनि चढ्छिन् । तर उनको सवारीसाधनमा नम्बर प्लेट हुँदैन ।

यसरी हिँड्दा उनी बेलायती राजपरिवारको प्रतिनिधिको छनक देखिन्छ । हङकङकी पहिलो महिला नेत्रीलाई ‘टफ फाइटर’को उपनामले पनि चिनिन्छ । राजनीतिक मुद्दामा कहिल्यै पछि नहट्ने उनलाई निडर नेत्री मानिन्छ । सन् २०१७ मा प्रमुख कार्यकारी बनेयता उनको तलबमान १२.४ प्रतिशतले बढेको छ । उनी सबै प्रयोजनमा नोट पैसा नै प्रयोग गर्छिन् । उनको घरमै धेरै क्यास (नोट) राख्छिन् । उनीसँग बैंक खातै छैन ।

३. जो बाइडेन

No description available.
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् जो बाइडेन । उनको वार्षिक तलब नै ४ लाख अमेरिकी डलर छ । अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस छ तलाको छ भने यसमा १३२ कोठाहरु छन् ।यसबाहेक बाइडेनले विश्वप्रसिद्ध एयरफोर्स वान प्रयोग गर्छन् । यो विमानमा चार हजार वर्गफिटको तीन तला त छँदै छ, त्यसभित्रै मेडिकल रुमको व्यवस्था छ जहाँ आकस्मिक शल्यक्रिया गर्न सकिन्छ । राष्ट्रपतिका लागि प्राइभेट सुइट्स र किचेन पनि यसभित्रै छ ।

जहाँ एकैपटक सय जनालाई खाना खुवाउन सकिन्छ । यसलाई विश्वकै उच्च क्षमता र विलासी विमानका रुपमा लिइन्छ । वार्षिक ४ लाख डलर राम्रो तलब हुँदाहुँदै अमेरिकी राष्ट्रपतिहरुले कार्यकालपछिका परियोजनाहरुबाट बढी पैसा कमाउँछन् ।

४. स्कट मोरिसन

No description available.
मोरिसन अस्ट्रेलियाका प्रधानमन्त्री हुन् । उनको वार्षिक तलब ३ लाख ९५ हजार ५ सय अमेरिकी डलर छ । उनी दुई भव्य सरकारी महलमा बस्न पाउँछन् ।

उनी मुख्यगरी द लज भन्नेमा बस्छन् भने सिडनी हार्बरमा रहेको दोस्रो किरिबिल्ली हाउसमा पनि बस्छन् । उनी अस्ट्रेलियाका ३०औँ प्रधानमन्त्री हुन् । उनले अस्ट्रेलियाको औसत तलबभन्दा छ गुणा धेरै कमाउँछन् । जलवायु परिवर्तनको मुद्दामा उनले आलोचना खेप्दै आएका छन् ।

५.एंगेला म्यार्केल

No description available.
म्यार्केल जर्मनीकी चान्सलर हुन् । उनी वार्षिक ३ लाख ६९ हजार ७ सय अमेरिकी डलर तलब लिन्छिन् । म्यार्केल एयरबस ए३४०–३१३एक्स भीआईपी विमानमा यात्रा गर्छिन् । तर उनीसँग जर्मन आर्म्ड फोर्सका महंगा विमानमा समेत पहुँच छ । उनी सन् २००५ मा जर्मनीको पहिलो चान्सलर बनेकी थिइन् । यो उनको चौथो र अन्तिम कार्यकाल हो ।

भर्खरैको चुनावमा उनको पार्टीले पराजय भोगेको थियो । उनलाई विश्वकै प्रभावशाली महिला नेत्री मानिन्छ । सत्तामा रहँदा नै उनले धेरै सम्पत्ति आर्जन गर्न सफल भएकी छिन् । उनले औसत जर्मन नागरिकले कमाउनेभन्दा आठ गुणा धेरै कमाउँछिन् ।

६. सेबास्टियन कुर्ज

No description available.
कुर्ज अस्ट्रियाका चान्सलर हुन् । उनको तलब ३ लाख २८ हजार ६ सय अमेरिकी डलर छ । अस्ट्रिया सरकारले भीआईपी ट्रान्सपोर्ट एयरक्राफ्ट कहिल्यै सञ्चालन नगरेको कारण अस्ट्रियाका प्रमुखले सामान्य तया तालिकाअनुसारको उडान गर्छन् । धेरैजसो राष्ट्रिय ध्वजावाहक विमान अस्ट्रियन एयरलाइन्स प्रयोग गर्छन् ।

तर आधिकारिक कामका लागि घरेलु यात्रामा निस्किँदा भने कुर्जलाई अस्ट्रियन एयरफोर्सको चार सिटे साब १०५ ओई चार्टर गर्न अनुमति छ । उनी ३५ वर्षमै सरकार प्रमुख बनेर चर्चा कमाएका थिए ।
उनी बेलाबखत हुने नराम्रा काण्डका कारण पनि चर्चामा आएका छन् । अहिले कुर्जले चान्सलरको रुपमा अस्ट्रियन नागरिकले औसतमा कमाउनेभन्दा छ गुणा धेरै आम्दानी गरिरहेका छन् ।

७. जसिन्डा आर्डेन

No description available.
आर्डेन न्युजिल्यान्डकी प्रधानमन्त्री हुन् । उनी वर्षमा ३ लाख २४ हजार अमेरिकी डलर तलब खान्छिन् । प्रधानमन्त्रीको कार्यकाल खाँदै गर्दा आमा समेत बनेकी थिइन् । यसअघि पाकिस्तानी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि प्रधानमन्त्री रहेकै बेला सन्तान जन्माएकी थिइन् ।

सन् २०१९ मा १५ महिलालाई फिचर गर्दा बेलायती चर्चित म्यागजिन भोगमा उनी पनि एक थिइन् । महामारीका बेला आर्डेनले न्युजिल्यान्डका तलब गुमाएका वा कटौतीमा परेका ५ लाख नागरिकको पक्षमा समर्थन जनाउँदै आफ्नो २० प्रतिशत तलब काटेकी थिइन् ।

८. जाभियर बेटेल

No description available.
बेटेल लक्जेम्बर्गका प्रधानमन्त्री हुन् । उनको तलब २ लाख ७१ हजारदेखि ३ लाख ४० हजार अमेरिकी डलरसम्म छ । उनी विश्वभ्रमणमा निस्किँदा निजी सेस्ना ५५० साइटेसन२, लक्सएयरबाट चार्टर गरिएको एउटा लियरजेट ३५ए र ७३७–७०० विमान प्रयोग गर्छन् । उनी लक्जेम्बर्गका पहिलो र युरोपका तेस्रो गे (समलिंगी) प्रधानमन्त्री हुन् ।

९. अलेजेन्डर डि क्रु

No description available.
क्रु बेल्जियमका प्रधानमन्त्री हुन् । उनले २ लाख ६७ हजार अमेरिकी डलर तलब खान्छन् । लामो यात्रामा निस्किँदा उनी एयरबस ए३२१ प्रयोग गर्छन् । यसबाहेक उनीसँग डासल्ट फाल्कोन ९०, एउटा इम्ब्रायर ईआरजे १३५ र दुई इम्ब्रायर ईआरजे १४५ पनि छ । बेल्जियमको राजपरिवारले पनि यी जहाज नै प्रयोग गर्छन् ।

१०. फुमियो किशिदा

No description available.
किशिदा जापानका नयाँ प्रधानमन्त्री हुन् । उनको तलब दुई लाख ५५ हजार अमेरिकी डलर छ । उनी विश्वकै ठूलो ट्विनजेट बोइङ ७७७ ३००ईआरमा भ्रमणमा निस्किन्छन् ।

विमानमा प्रधानमन्त्री र उनका सहयोगीका लागि भीआईपी रुम र कार्यषेत्र छन् । त्यसमा १०६ बिजनेस क्लास सिट अतिथिहरुका लागि उपलब्ध छ । प्रधानमन्त्रीका लागि जापान सरकारले दुई बोइङ७७७ जेट उपलब्ध गराउँछ । एउटा मुख्य प्रयोग र अर्को ब्याकअपका लागि ।

११. जस्टिन ट्रुडो

No description available.
जस्टिन क्यानडाका प्रधानमन्त्री हुन् । उनको तलब नै एकलाख ४६ हजार अमेरिकी डलरदेखि तीन लाख ६५ हजार डलरसम्म छ ।
उनी २२ कोठे जर्जियन रिभाइभल आकर्षक भवनमा बस्छन् । ओन्टारियोस्थित ओटावमा रहेको रिडो हलको ग्राउन्डमाथि रहेको यसलाई रिडो कटेजका रुपमा चिनिन्छ ।

सन् १८६७ मा बनेको रिडो कटेजलाई सन् २००० मा फेरि रेनोभेसन (प्रबलीकरण) गरिएको थियो । यो घरको स्वरुप निकै आकर्षक छ । ट्रुडोलाई विश्व राजनीतिमा प्रिय नेता मानिए पनि सन् २०१७ मा विदा मनाउँदा एक लाख ७० हजार अमेरिकी डलर खर्च गरेका थिए ।

यसमा उनको चर्को आलोचना मात्रै भएन, धेरै कानुनी प्रावधान उल्लंघनको आरोप नै लाग्यो । त्यस्तै अर्को पटक पारिवारिक भारत भ्रमणका बेला उनको १० लाख डलर खर्च भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया