Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएयर इन्डिया फेरि टाटाकै स्वामित्वमा

एयर इन्डिया फेरि टाटाकै स्वामित्वमा


नयाँ दिल्ली । भारतीय सरकारी वायुसेवा कम्पनी एयर इन्डिया चर्चित कम्पनी टाटाको स्वामित्वमा जाने भएको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । भारत सरकारले बेच्नका लागि आह्वान गरेको बोलपत्रमा टाटा सन्सले स्पाइस जेटलाई पछि पारेपछि सरकारी कम्पनी निजी कम्पनीको स्वामित्वमा जानलागेको हो ।

ऋणमा डुबेको एयर इन्डिया टाटाले १ खर्ब ८० अर्ब भारुमा खरिद गर्नलागेको हो । वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार शतप्रतिशत सेयर स्वामित्व रहने गरी टाटाले वायुसेवा प्रदायक खरिद गर्न लागेको छ ।

‘साल्ट टु सफ्टवेयर’ समूह टाटाले बोलपत्रमा सफल भएको बताइएको छ । स्पाइस जेटले १ खर्ब ५३ अर्बको बोलपत्र हालेको थियो । तर टाटाको उसको भन्दा धेरै भएपछि टाटा सन्स नै खरिदको हकदार भएको भारतीय मिडियाको भनाइ छ । यो खरिद प्रक्रिया डिसेम्बरसम्म पूरा हुने बताइएको छ । योसँगै एयर इन्डिया फेरि टाटाकै स्वामित्वमा फर्किएको छ ।

सन् १९३२ मा एयर इन्डियालाई जेहनगिर रतनजी दादाभोय टाटाले स्थापना गरेका थिए। त्यसयता यसलाई टाटा एयरलाइन्स भनिन्थ्यो । सन् १९४६ मा एयर डिभिजन टाटा सन्सलाई एयर इन्डिया भन्न थालियो । सन् १९४८ मा एयर इन्डिया इन्टरनेशनल भएसँगै यसले युरोप उडान सुरु भएको थियो ।

यसको अन्तर्राष्ट्रिय सेवा पहिलो सार्वजनिक निजी साझेदारीको सेवा थियो। यसमा सरकारको ४९ प्रतिशत सेयर थियो भने टाटाले २५ प्रतिशत र बाँकी सार्वजनिक सेयर थियो । त्यसपति सन् १९५३ मा एयर इन्डियालाई राष्ट्रियकरण गरिएको थियो ।

अहिले सरकारले कम्पनीको शतप्रतिशत सेयर बिक्री गर्नलागेको हो । यसमा एयर इन्डियाको शतप्रतिशत सेयर रहेको एआई एक्सप्रेस र एयर इन्डिया साट्स एयरपोर्ट सर्भिस प्रालिको ५० प्रतिशत सेयर पनि समावेश छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया