Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा पुराना कारहरुलाई धमाधम विद्युतीयमा रुपान्तरण गरिँदै

बेलायतमा पुराना कारहरुलाई धमाधम विद्युतीयमा रुपान्तरण गरिँदै


लन्डन । बेलायतमा वर्षौँ पुराना ससाना पेट्रोल तथा डिजेललगायत इन्धनबाट चल्ने सवारीसाधनलाई धमाधम विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने काम भइरहेको छ । बीबीसीका अनुसार पछिल्लो समय थोत्रिएर बसेका यस्ता कारहरु विद्युतीय बनाइन थालेका छन् ।

ओसवाल्ड पनि एउटा कालो ‘सन् १९५३ को मोरिस माइनर’ कार हो । तर उसको जैविक इन्धन पिउने मुटु एउटा विद्युतीय मोटरले प्रतिस्थापन गरिएको छ । यसअघि कारको ६८ वर्ष पुरानो पेट्रोल इन्जिनले धेरै अरु ध्वनिहरुलाई लुकाइदिन्थ्यो । तर लन्डनस्थित थेम्स छेउमा मोटरसाइकल र अन्य ट्राफिकले फेरि प्राण हाल्न थालेका छन्, तपाईं काठ घिसार्दा निस्किनेजस्तै थोरै मात्र ‘क्रिक’ आवाज सुन्नुहुन्छ ।

विद्युतीय सवारीसाधन (ईभी)हरुको तस्बिरहरु आधुनिक प्रविधिसँगै बदलिइरहेका छन् । ओसवाल्ड म्याथ्यु क्विटर नामका व्यक्तिको स्वामित्वमा छ, जो पुरानो ‘ग्यास गजलर्स’लाई ‘स्क्र्यापहिप’ (झर्यामझुरुम) हुनबाट बचाउने मिसनमा छन् । उनले यसलाई ब्याट्री पावरमा रुपान्तरण गरेका छन् र सन् २०१७ मा एउटा कम्पनी नै स्थापना गरेका छन्– लन्डन इलेक्ट्रिक कार्स ।

भक्सहलमा एउटा रेलवे आर्कमुनिको ग्यारेजमा काम गर्दा गर्दै उनको दिन बित्छ । जहाँ कम्पनीले क्लासिक कारहरुमा रहेका कम्बस्टन इन्जिनलाई विद्युतीय मोटर र ब्याट्रीले प्रतिस्थापन गर्छ । यसो नहुने हो भने ती इन्जिनहरु स्क्र्याप हुन्छन् । यी पार्टपुर्जाचाहिँ बीमा कम्पनीले बन्द गरिदिएका तर क्षति नपुगेका मोटर र ब्याट्री भएका दुर्घटनामा परेका विद्युतीय कारहरु टेस्ला र निसान लिफहरुबाट उपलब्ध हुन्छन् ।

‘हामी नै निर्विकल्प रिसाइक्लिङ हौँ’, क्विटर भन्छन् । यो कम्पनीले अहिले एउटा कन्भर्सन (एकलाई अर्कोमा रुपान्तरण) को २० हजार पाउन्ड स्टर्लिङ शुल्क लिन्छ जुन त्यति सस्तो होइन । तर यो शुल्कलाई ५ हजार पाउन्डमा झारेर कम्पनीले धेरै मानिसका लागि सहज बनाउने लक्ष्य राखेको छ । बेलायत सरकारले नयाँ ईभी किन्नेलाई २५ सय पाउन्ड अनुदान दिइरहँदा क्विटर कन्भर्सनका लागि पनि अनुदानको व्यवस्था हुनुपर्ने बताउँछन् ।

‘दशौँ लाख पुराना पेट्रोल र डिजेल कारहरु हाम्रो सडकमा खेर फाल्नु वाहियात हो र सरकारको ईभीमा छुटले यो प्रवृत्ति झनै बढाइरहेको छ’, उनी भन्छन् । ‘स्क्र्याप भएका ईभी ब्याट्री (जसका कच्चा पदार्थको मूल्य आकाशिएको छ) लाई प्रयोग गर्न सस्ता पुराना कारहरुलाई सुपथ र सहज रुपमा रुपान्तरणको लागि सरकारले पहल गर्नुपर्छ’, उनी भन्छन् ।

अक्सफोर्डमा इलेक्ट्रोजेनिक कम्पनी चलाइरहेका स्टिभ ड्रमन्ड पनि यस कुरामा सहमत छन् । उनको कम्पनीले पनि पुराना कारलाई विद्युतीय पावर दिन्छ ।
‘एउटा इन्जिनमात्रै परिवर्तन गर्न सकिने अवस्थामा सरकारको नयाँ ईभी किन्न उपलब्ध सहुलियत र सुविधाले पूरै कार फ्याँक्नुपरिरहेको छ’, उनी थप्छन् । तर सरकारले पनि यसलाई ठूलै बजारका रुपमा लिनथालेको छ ।

यही बेला क्लासिक कारलाई विद्युतीयमा रुपान्तरण गर्दा केही वित्तीय सुविधा पनि उपलब्ध हुनथालेको छ । अरु क्लासिक कारहरु (सन् १९८१ जनवरी ८ अघि बनेका) व्यावसायिक प्रयोजनमा प्रयोग नभएसम्म सवारी करबाट मुक्त हुन्छन् । यसबाहेक कम्तीमा धेरै माइलेज नलिएसम्म यी कारको बीमा पनि सस्तो छ । यद्यपि यदि तपाईं यी कारलाई कन्भर्ट गर्दै हुनुहुन्छ भने यसको जानकारी बीमा सेवा प्रदायकलाई दिनुपर्छ । न्तिजा तपाईंको प्रिमियम बढ्नसक्छ ।

केचाहिँ निश्चित हो भने नयाँ विद्युतीय कार बनाउनभन्दा पुराना कारलाई विद्युतीय बनाउँदा थोरै मात्र कार्बनडाइअक्साइड उत्पादन हुन्छ । सरकारले लगानी गरेको जेमो पार्टनरशिपका अनुसार एउटा नयाँ पूर्ण विद्युतीय कारले यसको जीवनकालमा १८ टन सीओ२ उत्पादन गर्छ, यसको ४६ प्रतिशत निर्माणकै क्रममा हुनआउँछ । यो भनेको एउटा स्ट्यान्डर्ड पेट्रोल गाडीका लागि २४ टन हुनआउँछ ।

क्विटरका अनुसार एउटा कार कन्भर्ट गर्न तीनदेखि छ महिनासम्म लाग्छ । कन्भर्ट गर्ने अनुभवमा भर पर्ने बताउँछन् उनी । त्यस्तै ग्राहकको चाहना र थप्न चाहेको विशेषताले भने जटिलता थप्ने उनी बताउँछन् । ओसवाल्डको रेन्ज भनेको ४० माइल हो । जुन लन्डनको हकमा भन्ने हो भने एक हप्ताको ड्राइभिङ हो । यसको लागि चार्जमा १ पाउन्ड खर्च हुन्छ ।

यसमा पनि केही क्लासिक कारहरु विद्युतीयमा रुपान्तरण गर्न सजिलो हुने क्विटर बताउँछन् । आस्टोन मार्टिन कारहरु भने विद्युतीय बनाउन केही जटिल मानिन्छन् । बेन्ट्ले र रोल्स रोयसका कारचाहिँ विद्युतीय बनाउन सजिलो रहेको उनको भनाइ छ ।

ड्रमन्डको अनुभवमा इलेक्ट्रोजेनिकमा पुराना माइनिस र ल्यान्ड रोभरहरु कन्भर्ट गर्न निकै सस्तो रहेको छ । कारप्रेमी उनको पहिलो काम बेलायतको राष्ट्रिय मोटर संग्रहालयमा भान्छाहरु सफा गर्ने थियो । तर विश्वकै पहिलो रुपान्तरित मोर्गान स्पोर्टस कार उनको अहिलेसम्मकै उत्साहपूर्ण परियोजना थियो । उनको कम्पनीले अहिले ग्लास्टनबरी फेस्टिभलका सबैजसो ल्यान्ड रोभरहरुलाई विद्युतीयमा रुपान्तरण गरिरहेको छ ।

‘हामी फेरि प्रयोगका लागि कार बनाउँछौँ, केवल संरक्षणका लागि मात्रै होइन’, उनी भन्छन्, ‘धेरै पेट्रोलियम क्लासिक कारले नै मानिसलाई घरसम्म पुर्याउँछन् तर हामी रेन्ज र पहुँचयोग्य बनाउने कामलाई बढाइरहेका छौँ ।’

‘इन्जिनको घरघराहटलाई माया गर्नेहरुले ब्युँझेर कफीको गन्ध लिन जरुरी छ’, उनी भन्छन् । तर केही क्लासिक कारप्रेमीहरु भने यस्ता कारलाई विद्युतीयमा रुपान्तरण गर्नुलाई अपवित्र (नराम्रो) मान्छन् ।

‘हुन त मानिसहरुले आफ्नो कार यसै गर्नुपर्छ भन्न चाहन्न तर हाम्रो सम्पदा रुपान्तरण गर्दाको असरबारे पनि सोच्न मानिसहरुलाई सल्लाह दिन्छु’, फेडेरेसन अफ ब्रिटिस हिस्टोरिक भेहिकल्स क्लबका निर्देशक वाइने स्कट भन्छन् ।

‘इन्जिनको साउन्डट्राक कार अनुभवको एउटा अंग हो र यसैले यसलाई विशेष बनाउँछ । यसको रिफिटिङ भनेको त उत्कृष्ट रोलिङ स्टोन्स एल्बमलाई लिएर यसलाई फेरि क्यासियो किबोर्ड बनाएर मानिसहरुलाई उही अनुभव छ नि भनेजस्तो भयो’, उनी भन्छन् । बेलायतमा क्लासिक (पुराना) कारहरुको हिस्सा देशको कुल सवारीसाधनको कुल माइलेजको शून्य दशमलव २५ प्रतिशतभन्दा कम छ । त्यसकारण पनि वातावरणीय कुरा उठाएर पुराना कारलाई विद्युतीय बनाउन जरुरी नहुने स्कटको तर्क छ ।

तर फेरि विद्युतीय कारमा रुपान्तरण गर्ने लुनाजका संस्थापक डेभिड लोरेन्ज भने पुराना कार उद्योगलाई समय सुहाउँदो बनाउन एकपटक सोच्नैपर्ने बताउँछन् । उनको कम्पनीले त चर्चित बेलायती फुटबलर डेभिड बेकह्यामबाट समेत लगानी पाएको छ । यसले एउटा विद्युतीय रोल्स रोयसको लागि ५ लाखसम्म शुल्क लिन्छ ।

लोरेन्ज भन्छन् कि दिगो अभ्यासतिर जानुपर्ने विश्वको जोडले नै हाम्रो व्यवहारलाई पुनः सन्तुलनमा ल्याउने समयको वास्तविकता महशुस गराएको छ । ‘यिनीहरु सुन्दर वस्तुहरु हुन् जो खतरामा छन् । र त्यहाँ त्यस्तो सोचाइ पनि छ कि युवापुस्ताका ड्राइभरहरु यसको संरक्षण चाहन्छन्, विद्युतीयमा रुपान्तरण गरेर यी कारको विरासत जोगाउन चाहन्छन्’, उनी भन्छन् । बीबीसीबाट अनुवाद । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया