Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसको असर एसियाली सेयरबजारमा

कोरोना भाइरसको असर एसियाली सेयरबजारमा


न्युयोर्क, माघ १५
चीनको वुहानबाट फैलिएको नयाँ रोग कोरोना भाइरसको असर एसियाली सेयरबजारमा देखिएको छ । धेरै एसियाली बजार लुनार नयाँ वर्षको विदामा भए पनि खुलेका एसियाली सेयरबजारमा यसको असर देखिएको हो । जापान र दक्षिण कोरियाको सेयरबजार भने ओरालो लागेको थियो । टोक्योमा लगानीकर्ता हतोत्साहित हुँदा शून्य दशमलव ६ प्रतिशतले बजार झरेको थियो भने सिओलमा ३ प्रतिशतले गिरावट देखिएको मिडियाहरुले जनाएका छन् । हंगकंगको सेयरबजार बुधबारदेखि पुनः खुल्नेछ । चीनको सेन्जेन र सांघाई सेयरबजार भने फेब्रुअरी ३ सम्म नखुल्ने बताइएको छ । तर युरोपेली सेयरबजार भने उकालो लागेका छन् ।

मंगलबारसम्म १ सय ६ जनाको मृत्यु : यसैबीच, चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको संख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० वटा प्रान्तमा झण्डै चार हजार ५ सय १५ जना संक्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

संक्रमितमध्ये ९ सय ७६ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टा यता ७ सय ६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८०६ जनालाई पनि यसको संक्रमणको आशंका गरिएको आयोगले जनाएको छ । सोमबार मात्र १ हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु २ हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ । सोमबार मात्र करिब ६० जना कोरोना भाइरसबाट निको भएर अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । यसअघि पनि यस रोगबाट निको भएका १ हजार भन्दा बढी घर फर्किएका थिए ।

यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त संक्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । संक्रमणको प्रकोप चीनका कम्तीमा ३० प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ सहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस संक्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभर नै त्रास फैलिएको छ ।

चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया