Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारऐतिहासिक विश्व व्यवसाय करमा ठूला देशका नेता एकमत

ऐतिहासिक विश्व व्यवसाय करमा ठूला देशका नेता एकमत


रोम । विश्वका २० ठूला अर्थतन्त्र भएका देशहरुले ठूला व्यवसायको नाफामा न्यूनतम १५ प्रतिशत कर लगाउन विश्व सहमति गरेका छन् । बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो नाफा जोगाउन थोरै कर लाग्ने देश प्रयोग गर्नथालेपछि विश्वका नेताहरु ठूला कम्पनीलाई करमा कस्ने बाटो खोजिरहेका थिए ।

उक्त सम्झौतामा रोममा भएको जी२० सम्मेलन उपस्थित सबै विश्व नेताले सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । जलवायु परिवर्तन र कोरोना मुख्य योजना रहेको सम्मेलन महामारी सुरु भएयता प्रत्यक्ष उपस्थितिमा भएको पहिलो सम्मेलन हो । जी२० समूहमा १९ देशसँगै युरोपेली संघ समावेश छन् । सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने अनलाइन रुपमा उपस्थित भएको जनाइएको छ ।

सम्मेलनमा भएको कर सम्झौताको प्रस्ताव अमेरिकाले गरेको थियो । आइतबार नै यसलाई आधिकारिक रुपमा स्वीकारिने रोयटर्सले जनाएको छ । यसको कार्यान्वयन भने सन् २०२३ देखि सुरु हुनेछ । अमेरिकी अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) जानेट येलेनले यो सम्झौतालाई विश्व अर्थतन्त्रको लागि अत्यन्त महत्वपूर्ण भनेकी छिन् । उनले ठूला कम्पनीहरुले धेरै कर तिर्नुपरे पनि यसबाट अमेरिकी व्यवसायी र श्रमिकहरुले फाइदा लिनसक्ने बताइन् ।

ग्लास्गोमा सोमबारदेखि सुरु हुने बहुप्रतीक्षित कोप२६ सम्मेलनअघि जी२० सम्मेलन भएको हो । जी२० मा जे हुन्छ त्यसले कोप२६ को भावना उजागर गर्ने अपेक्षा गरिएको छ । खासगरी जलवायु परिवर्तनविरुद्धका कदममा देशहरु विभाजित भइरहेका छन् । इटलीका प्रधानमन्त्री मारियो ड्राघीले दुई दिने जी २० सम्मेलन एकता र बहुपक्षीय सहकार्यको भावनासहित उद्घाटन गरेका थिए । विविधताबाट एकतामा आउँदा विश्वले धेरै राम्रो काम गर्न सक्ने उनले बताएका थिए । विज्ञहरुले कार्बन कटौतीमा ठोस कदम नचाले भविष्य चुनौतीपूर्ण हुने चेतावनी दिँदै आएका छन् ।

यसैबीच, जी–२० राष्ट्रहरू १.५ डिग्री जलवायु परिवर्तन लक्ष्यमा सहमत भएका छन् । जी–२० राष्ट्रका नेताहरूले विश्व तापमानलाई पूर्व–औद्योगिक स्तर भन्दा कम १.५ डिग्रीमा सीमित गर्ने सहमतिमा पुगेका हुन् । शिखर वार्तालाई नजिकबाट नियालेका तीन स्रोतहरूले आइतबार एएफपीलाई उक्त कुरा बताएका छन् ।

स्रोतहरूले दिएको जानकारीअनुसार ती नेताहरूले २०१५ को पेरिस सम्झौतामा सहमति भएको भन्दा बाहिर जाने विषयलाई अनुमोदन गरेका छन् । जसले ग्लोबल वार्मिङलाई २ डिग्री भन्दा कम १.५ डिग्रीको नजिकमा राख्न आह्वान गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया