Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई मस्कको चुनौती– छ अर्ब डलर दिन्छु विश्वबाट भोकमरी हटाऊ’

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई मस्कको चुनौती– छ अर्ब डलर दिन्छु विश्वबाट भोकमरी हटाऊ’


अमेरिका । अर्बपति एलन मस्कले विश्व खाद्य कार्यक्रमलाई यदि छ अर्ब डलरले विश्वको भोकमरी हटाउँछ भने आफूले सो रकम दिने बताएका छन् । त्यसका लागि आफ्नो टेस्लामा रहेको सेयर बिक्री गर्ने मस्कको भनाइ छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिड बिस्लेले धनाढ्यहरुलाई केही दिनअघि चुनौती दिएका थिए । खासगरी विश्वका धनाढ्यद्वय जेफ बेजोस र मस्कलाई सीएनएनसँगको एउटा अन्तर्वार्तामा केही रकम खर्च गर्न भनेका थिए ।

बिस्लेले भनेका थिए, ‘चार करोड २० लाख मानिसलाई मद्दत नगरे उनीहरु मर्नुपर्नेछ, उनीहरुलाई बचाउन छ अर्ब अमेरिकी डलर चाहिन्छ, यो भनेको मस्कको कुल सम्पत्तिको मात्र दुई प्रतिशत मात्रै हो ।’

गत हप्ता यो चुनौती आएपछि मस्कले आइतबार ट्विट गर्दै भनेका छन्, ‘यदि डब्लूएफपीले छ अर्ब डलरमा यो समस्या समाधान गर्न सक्छ भने म टेस्लाको सेयर बेचेर रकम दिन तयार छु ।’

उनले थपेका छन्, ‘तर यसको खर्च खुल्ला र जवाफदेही भएर हुनुपर्छ ता कि आममानिसले पैसा कसरी खर्च भइरहेको छ थाहा पाउन सकून् ।’

मस्कको ट्विटको बिस्लेले पनि जवाफ दिएका छन् । त्यसमा उनले डब्लुएफपीसँग पारदर्शिताको लागि प्रणाली रहेको र खुल्ला र जवाफदेही भएरै खर्च गरिनेमा निश्चिन्त हुन भनेका छन् । उनले भनेका छन्, ‘तपाईंको टोलीले हामीसँग हाम्रो कामको अनुगमन गर्न सक्छ ।’

उनले थप भनेका छन्, ‘छ अर्ब डलरले विश्वको भोकमरीको समाधान गर्न नसके पनि यसले भूराजनीतिक अस्थिरता, ठूलो बसाइसराइ र ४ करोड २० लाख मानिसलाई भोकमरीबाट बचाउनचाहिँ सक्नेछ ।’

सीएनएनसँगको अन्तर्वार्तामा मस्कलाई उनले यदि तपाईंको छोरी खानै नपाएर मरिन् भने, तपाईंको परिवारलाई यस्तो भयो भने जस्ता भावुक कुरा गर्दै यसका लागि पहल गर्न चिढ्याएका थिए ।

सोमबारसम्म मस्कको सम्पत्ति तीन खर्ब ११ अर्ब अमेरिकी डलर पुगेको ब्लुमबर्ग अर्बपति सूचकांकले जनाएको छ । अहिले विश्वका सर्वाधिक धनी नै मस्क रहेका छन् । महामारी सुरु भएयता अमेरिकी अर्बपतिहरुको सम्पत्ति झण्डै दोब्बरले बढेको छ । अक्टोबरसम्म उनीहरुको कुल सम्पत्ति नै ५० खर्ब डलर नाघेको पोलिसी स्टडिज एन्ड अमेरिकन्स फर ट्याक्स फेयरनेसले दाबी गरेको छ । गत हप्ता मात्रै अमेरिकी विद्युतीय कार उत्पादक टेस्ला १० खर्ब डलर मूल्यवान् कम्पनी बनेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया