Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररिभियनको मूल्यांकन १ खर्ब डलर पुग्यो

रिभियनको मूल्यांकन १ खर्ब डलर पुग्यो


अमेरिका । विद्युतीय कार निर्माता कम्पनी रिभियन सेयरबजारमा प्रवेश गरेलगत्तै एक खर्ब अमेरिकी डलर मूल्यवान् कम्पनी बनेको छ । बुधबारदेखि सेयरबजार छिरेको यो कम्पनीको सेयर पहिलो दिनको कारोबारमै ३० प्रतिशतले बढेको हो ।

विद्युतीय भ्यान, पिकअप र एसयूभीहरु विकास गरिरहेको कम्पनी स्टार्टअप कम्पनी रिभियनलाई टेस्लापछि अमेरिकामा सर्वाधिक मूल्यवान् कम्पनी बनाइदिएको छ । बीबीसीका अनुसार रिभियनले आफ्नो पहिलो विद्युतीय पिकअप ट्रक गत सेप्टेम्बरदेखि ग्राहकलाई डेलिभरी गरेको थियो ।

विगत दुई वर्षयता कम्पनीले दुई अर्ब डलर घाटा व्यहोरेको थियो । तर अहिले कम्पनीले लगानीकर्तालाई आकर्षित गरिरहेको छ । यसलाई अनलाइन बिक्रेता अमेजनले पनि सहयोग गरेको छ । मंगलबार कम्पनीले लगानीकर्ताबाट ११ अर्ब ९० करोड डलर उठाएको थियो । लगानीकर्ताहरुले प्रतिकित्ता ७८ अमेरिकी डलरमा सेयर किनेका थिए । जुन कम्पनीले सोचेभन्दा माथिको दर हो ।

रिभियनलाई एलन मस्कको टेस्लासँग तुलना समेत गर्न थालिएको छ । टेस्ला त्यस्तो कार हो जसले विद्युतीय कारहरुको बजारलाई परिवर्तन गरिदिएको छ । रिभियनले अहिले नै फोर्ड र जनरल मोटर्स (जीएम)लाई पछाडि पारिसकेको छ । उसले डिसेम्बरदेखि एसयूभी, पिकअपलगायतको डिजाइन र उत्पादन सुरु गर्दै छ । सन् २०२३ देखि डेलिभरी सुरु गर्ने कम्पनीको लक्ष्य छ । रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो । सुरुमा यो मेनस्ट्रिम मोटर्स थियो । पछि सन् २०११ मा रिभियन बनेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया