Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय धनीहरुको रोजाइ बन्दै छ लण्डन

भारतीय धनीहरुको रोजाइ बन्दै छ लण्डन

मुकेश अम्बानी पनि उतै जाने चर्चा


नयाँ दिल्ली । पछिल्ला केही दिनयता भारतीय सामाजिक सञ्जालमा एसियाकै धनी मुकेश अम्बानी आफ्नो सपरिवार बेलायती राजधानी बसाइँ सर्न लागेको चर्चा चलिरहेको छ । हुन पनि उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले यही वर्षको सुरुतिर बेलायती राजधानीमा सात करोड ७० लाख अमेरिकी डलरबराबरको पार्कसहितको बंगला खरिद गरेसँगै उक्त हल्ला चलेको हो । फोब्र्स म्यागजिनका अनुसार अम्बानीसँग एक खर्ब १० अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ । उनी अहिले मुम्बईको २७ तले भव्य बंगला एन्टिलियामा बस्छन् । यो भवन बनाउनै १–२ अर्ब डलर लागेको बताइन्छ ।

यो हल्लालाई भने अम्बानीको कम्पनीले एक वक्तव्यमा आधारहीन भनेको छ । यद्यपि गत अप्रिलमा खरिद लन्डनभन्दा करिब ४० किमि बाहिर ३०० एकडमा फैलिएको स्टोक पार्कले दुई वर्षे प्रबलीकरणपछि ग्रुपको द्रुतगतिमा फस्टाइरहेको उपभोक्ता व्यवसाय बढाउँछ भन्ने कम्पनीको भनाइले अम्बानी परिवारलाई बेलायतमा ठूला घर किनेर बसेका अरु भारतीय व्यवसायीकै दाँजोमा राखिदिएको छ ।

५३ अर्ब डलरको स्टिल तथा खनिज कम्पनी आर्सलरमित्तलका प्रमुख लक्ष्मी मित्तल लण्डनमा तीन भव्य बंगलाका मालिक छन् । ७१ वर्षीय यी व्यवसायीको सबैभन्दा ठूलो बंगला अर्बपतिहरु बस्ने लाइनले परिचित द बिशोप एभेन्युमा छ । यो स्थानलाई विश्वकै धनीहरु बस्नेमध्ये एउटा स्ट्रिट मानिन्छ । भनिन्छ मित्तलको समर प्यालेस बनाउन ताज महल बनाउन प्रयोग भएको मार्बल प्रयोग गरिएको थियो । यसमा धेरै साजसज्जा गरिएको थियो । यसबाहेक मित्तलले सन् २००८ मा छोराका लागि बेलायतको केन्सिंगटनस्थित प्यालेस ग्रिनमा १२ शयनकक्षयुक्त दोस्रो बंगला किनेका थिए भने त्यही वर्ष अर्को बंगला किनेर छोरीलाई उपहार दिएका थिए ।

त्यस्तै चार हिन्दुजा दाजुभाइहरु श्रीचन्द, गोपीचन्द, प्रकाश र अशोक बहुराष्ट्रिय हिन्दुजा ग्रुपका मालिक हुन् । उनीहरुको कुल सम्पत्ति ३१ अर्ब ७० करोड अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ । उनीहरुको पनि बेलायती राजधानीमा विलासी घरहरु छन् । यसमा छ तले चारवटा जर्जियन टेरेस छ, जुन एकआपसमा जोडिएका छन् । यी घरको मूल्य करिब ५० करोड अमेरिकी डलर पर्न आउँछ ।

यता संसारकै ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदर पुनवाला पनि यही वर्ष भारतीय सहर पुनेबाट लन्डनको मेफेयरमा रहेको २५ हजार वर्गफिटको बंगलामा बसाइ सरेका थिए । जुन घरलाई पोल्यान्डका एक अर्बपतिले हप्ताको ६९ हजार अमेरिकी डलर भाडामा समेत लिएका थिए ।

अर्का अहिले निष्क्रियप्रायः रहेको किंगफिसर एयरलाइन्सका पूर्वमालिक ६५ वर्षीय भगौडा भारतीय अर्बपति विजय माल्या जो अहिले बेलायतमा सुपुर्दगीको मुद्दा खेपिरहेका छन्, पनि धनीमानी बस्ने लण्डनकै रेजेन्ट पार्कमा रहेको कर्नवाल टेरेसको विलासी घरमा बस्छन् ।

यसले बेलायतमा सम्पत्ति किन्न भारतीय उच्च धनाढ्यहरुको चाहनालाई प्रतिविम्बित गर्ने बताउँछन् बेलायतको रियलस्टेट फर्म पर्पल ब्रिक्सका कन्सल्ट्यान्ट सुशील अग्रवाल ।

‘धेरै भारतीय धनाढ्यहरु हाम्रो लण्डनका घरहरुबारे जान्न लालायित छन् । विश्वमा आफ्नो छाप छोडिरहेका धनाढ्यहरु बेलायतमा उपलब्ध जीवनको उच्च विलासिता र सेवाहरुमा धेरै नै आकर्षित देखिन्छन्’, उनले भने ।

अग्रवालका अनुसार ब्रेक्जिटका कारण लन्डनका बंगलाको मूल्यह्रास हुनु, भारत–बेलायत व्यापार सम्बन्ध बढ्नु र दुई देशबीचको भिसा कडाइ खुकुलो हुँदै गर्दा यो प्रवृत्ति बढिरहेको छ ।

‘बेलायतलाई भारतीय अर्बपतिहरुले रुचाएका छन्, खासगरी जो फोर्ब्सको धनीसूचीमा छन् । किनभने यस्ता लगानीले भारतीय समुदायमा ठूलो व्यक्तित्वलाई बोकेको हुन्छ’, उनले भने ।

प्रोपर्टी एजेन्ट नाइट फ्रान्कको सन् २०१९ को सम्पत्तिसम्बन्धी प्रतिवेदनअनुसार लण्डन त्यो वर्ष भारतका उच्च धनाढ्यमध्ये ७४ प्रतिशतले रुचाएको गन्तव्य बनेको थियो । त्यही रिपोर्टअनुसार विलासी घर किन्नेहरुको संख्या ११ प्रतिशतले बढेको थियो । जो भारतीयहरु नै रहेका थिए ।

मुम्बईबाट दुई दशकअघि लण्डन सरेका एक लगानी बैंकर प्रदीप सेठी अहिले लण्डनमा दुईवटा घरका मालिक छन् । व्यवसायका लागि अत्युयुक्त हुँदा बेलायती राजधानीलाई सर्वाधिक रुचाइनुको मुख्य कारण मान्छन् उनी । ५३ वर्षीय सेठीका अनुसार लन्डनको सांस्कृतिक र सामाजिक सेरोफेरोले घरमै रहेको अनुभव त दिन्छ नै, आकस्मिकता परे आठ घण्टाकै उडानमा भारत पुग्न सकिन्छ । यसबाहेक धेरै भारतीयहरु आफ्ना सन्तानलाई उच्च शिक्षा लिन बेलायत पठाउँछन् र यहाँको स्थानीय सम्पत्तिमा लगानी गर्नु पारिवारिक चाहना पनि भएको उनको भनाइ छ ।

सताइरहने कर्मचारीतन्त्र पनि भारतीय व्यवसायी विदेशपलायनको अर्को कारण हो । धातु तथा खानीजन्य व्यवसायी अनिल अग्रवालले सन् २०१९ मै आफूलाई भारत छाड्न बाध्य पारिएको खुलासा गरेका थिए । किनभने आफ्नो उद्यमशील महत्वाकांक्षाको सपना पूरा गर्न नपाउँदा उनले साह्रै निराशा भोगेका थिए ।

‘म के गर्न सक्छु? भारतमा मैले पैसा कमाउनै सकिन । मैले १० करोड बजार पुँजी पाउनै सकिन…अनि म लण्डन हानिएँ । जहाँ सुट र टाई पहिरिएँ, केही कुरा पाउन पनि समर्थ भएँ’, द इकोनोमिक टाइम्सले उनको भनाइ उद्धृत गर्दै लेखेको थियो ।

एकपटक बेलायतमै अग्रवालले उनको भेन्दाता रिसोर्सेसलाई हुर्काउन सफल भएका थिए । जुन सन् २००३ मा लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने पहिलो भारतीय कम्पनी बन्यो । र भारतीय धनीहरुको विदेश पलायन रोकिने सानो संकेत पनि देखिँदैन ।

गत वर्षमात्रै भारतको धेरै सम्पत्ति भएका व्यक्तिहरुमध्येको झण्डै दुई प्रतिशत अर्थात् करिब ५ हजार करोडपतिहरुले आफ्नो सम्पत्ति र जीवनलाई विश्वव्यापीकरण गर्न भारत छोडेको अफरएसिया बैंकको पछिल्लो ग्लोबल वेल्थ माइग्रेसन रिभ्यु रिपोर्टले देखाएको छ ।

यसमा अहिलेसम्म जारी कोरोना महामारी मुख्य कारण मानिएको लण्डनमा मुख्यालय रहेको ग्लोबल सिटिजनशिप एन्ड रेसिडेन्स एडभाइजरी हेन्ले एन्ड पार्टनर्सले गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा अन्य देशको नागरिकता लिने वा त्यही बस्न चाहनेमा भारतीयहरु नै बढी देखिएका छन् ।

बेलायतको पार्कल्यान्ड र इंग्लिस कन्ट्री गार्डेनहरुकै बीच रिलायन्सको स्टोक पार्क इस्टेटभित्र ४९ शयनकक्षको बंगला, १४ एकड निजी बगैंचा, १३ वटा टेनिस कोर्ट, एउटा पाँचतारे होटल, तीनवटा रेस्टुराँ, एउटा स्पा र फिटनेस सेन्टर तथा २७–होलको च्याम्पियनसिप गल्फ कोर्स रहेका छन् । यो पार्कमा जेम्स बन्ड फिल्म गोल्डफिंगर र टुमरो नेभर डाइजजस्ता धेरै फिल्महरुको छायांकन गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया