Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएयरबस नाफामा फर्किँदा अझै संघर्षरत बोइङ

एयरबस नाफामा फर्किँदा अझै संघर्षरत बोइङ


पेरिस । विश्व हवाइ क्षेत्र गत वर्षको कोरोना नियन्त्रणलक्षित प्रभावबाट विस्तारै अघि बढिरहेको छ । तर युरोपेली विमाननिर्माता एयरबस आफ्नो अमेरिकी प्रतिस्पर्धीको तुलनामा छिटो व्यवसाय सुधार गरिरहेको छ । शृंखलाबद्ध संकटमा फसेको बोइङको व्यवसायमा अझै राम्रो सुधार हुनसकेको छैन ।

एएफपीका अनुसार विश्व हवाइ क्षेत्रमा एकछत्र राज गरिरहेका यी दुई कम्पनीले आइतबारदेखि सुरु पाँचदिने दुवई एयर शोमा नयाँ व्यवसाय खोजिरहेका छन् । यो शो कोरोना महामारी सुरु भएयताकै पहिलो मुख्य कार्यक्रम हो । एयरबस महामारीबाट तंग्रिएर नाफामा फर्किसकेको छ भने यो वर्ष पहिलो १० महिनामा चार सय ६० वटा विमान डेलिभर समेत गरिसकेको छ । तर प्रतिस्पर्धी अमेरिकी कम्पनी भने रातोघेराबाट माथि उठ्न संघर्ष गरिरहेको छ । कम्पनीले सोही अवधिमा मात्र दुई सय ६८ वटा विमान मात्रै डेलिभर गर्न सकेको छ ।

बोइङको ७३७ म्याक्स गत वर्षदेखि नै आकाश फर्किएको छ । इथियोपिया र इन्डोनेसियामा भएको दुई समान प्रकृतिको विमान दुर्घटनापछि यो जेट संसारभर २० महिना लामो समयसम्म उड्न पाएन । ती दुई दुर्घटनामा तीन सय ४६ जनाको मृत्यु भएको थियो । कम्पनीले लगभग तीन सय ७० वटा विमान बनाइरहेको र त्यसलाई बेच्न दुई वर्ष लाग्ने बोइङका प्रमुख कार्यकारी डेभिड कलहनको भनाइ छ । ७३७ म्याक्सले चीनमा अझै पुनर्मान्यता पाउन बाँकी नै छ । विमान उत्पादकको मुख्य बजारका रुपमा चीनलाई लिइन्छ । कलनहनका अनुसार बोइङको उत्पादन योजना चिनियाँ बजारको पहुँचमा भर पर्नेछ ।

त्यस्तै ७८७ ड्रिमलाइनरमा पनि समस्या रहेको छ । यसले कम्पनीलाई झण्डै एक अर्ब डलर खर्चाएको छ । गत मेदेखि कम्पनीले ७८७ को डेलिभरी रोकेको थियो । खासगरी बितेको वर्ष धेरै समस्या भेटिएपछि दोस्रोपटक यसको सेवा निलम्बन भएको थियो । त्यसमा गत जुलाईमा कम्पनीले यसको नोजमा थप समस्या देखिएको र यसलाई समाधान गरिरहेको बतायो । यता सन् २०२२ मा पहिलो डेलिभरीको तयारी गरिएको ७७७एक्स वाइडबडी नयाँ बोइङ विमान डेलिभरीको समय फेरि २०२३ लाई सारिएको छ । यसले कम्पनीलाई साढे छ अर्ब अमेरिकी डलर खर्चाएको छ । एरोस्पेस कन्सल्टेन्सी टिल ग्रुपका रिचार्ड अबलाफियाले बोइङ चौतर्फी समस्याबाट गुज्रिरहेको र तिनीहरु नसकिएको बताए ।

यसबाहेक कोभिडले पनि बोइङलाई नराम्ररी नोक्सानी पु-याएको छ । अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धका कारण कम्पनीलाई असर पुगेको थियो । यस्तोमा अन्तर्राष्ट्रिय ट्राफिक महामारीअघिकै अवस्थामा फर्किन २०२३ देखि २०२५ सम्म लाग्ने अनुमान छ । घरेली हवाइ यात्राले भने न्यारोबडीका ए३२० जस्ता विमानलाई फाइदा पुगेको छ । दुवईमा एयरबसले नयाँ ए३२१ निओ सिंगल आइसल विमान प्रदर्शनमा उतार्दै छ । कम्पनीले सन् २०२३ मा लामो दूरीलक्षित विमान ए३२१एक्सएलआर बजार पठाउने तयारी गरेको छ । जसले १० घण्टासम्म उड्न सक्छ । लामो दूरीका गन्तव्यमा सिंग आइसलमा एयरबस एक्लो हो । आगामी १० वर्षमा भने यी दुवै कम्पनीले अत्यधिक विमान डेलिभरी गर्नेछन् । गत वर्ष बोइङले आफ्नो नयाँ मध्यम आकारको विमान परियोजना रोकेको थियो । यी विमान २०२५ सम्म डेलिभरी गर्ने र यसले दुई सय ७५ यात्रुलाई नौ हजार किमिको गन्तव्य पु-याउने अपेक्षा गरिएको थियो ।

बजार हिस्सामा बोइङ पछि पर्दै जाँदा अब यसमा पुनः दाबी गर्न कम्पनीले नयाँ विमान ल्याउनुपर्ने हुन्छ । एयरबसको ए३२१ निओले बोइङलाई दबाब सिर्जना गर्नेछ । त्यसरी बजार हिस्सामा फर्किन झण्डै १५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने भएकाले बोइङका लागि यो जटिल विषय बनेको छ । तर बोइङलाई नयाँ विमान ल्याउन सन् २०२८/२०२९ सम्म गाह्रो पर्ने देखिएको छ । कलहनले अक्टोबरमा नयाँ विमान ल्याउन यसको डिजाइन र उत्पादन प्रणालीमा टिम लागेको संकेत गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया