Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१७ अर्ब डलर लागतको चिप प्लान्ट बनाउन सामसङले रोज्यो टेक्सस

१७ अर्ब डलर लागतको चिप प्लान्ट बनाउन सामसङले रोज्यो टेक्सस


अमेरिका । प्रविधि कम्पनी सामसङले अर्बौँ डलरको चिप प्लान्ट बनाउन अमेरिकी राज्य टेक्सस रोजेको छ । कम्पनीले टेक्ससस्थित टेलर सहरमा आफ्नो नयाँ १७ अर्ब डलर लागतको कम्प्युटर चिप प्लान्ट बनाउने भएको बीबीसीले जनाएको छ ।

अहिले विश्वमा सेमिकन्डक्टर चिपको चरम अभाव चलिरहेको छ । यसलाई दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनीको अमेरिकामा अहिलेसम्मकै ठूलो लगानी मानिएको छ । यो प्लान्टले दुई हजार रोजगारी सुनिश्चित गर्नेछ । अर्को वर्षदेखि प्लान्ट निर्माण सुरु हुने बताइएको छ । चिपको आपूर्तिमा समस्या आइरहँदा अरु प्रतिस्पर्धी कम्पनीसँगै सामसङले पनि अमेरिकामा चिप उत्पादनलाई विस्तार गरिरहेको छ ।

‘ठूलो उत्पादन क्षमतासँगै हामी ग्राहकको माग पूरा गर्न र विश्व सेमिकन्डक्टर आपूर्ति शृंखलामा योगदान गर्न सक्षम हुनेछौँ’, कम्पनीको इलेक्ट्रोनिक डिभाइस सलुसनका प्रमुख कार्यकारी किनाम किमले भने । यो प्लान्ट सन् २०२४ को आधाआधीतिर सञ्चालनमा आउने आश गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिप उत्पादकहरुलाई उत्पादनको रफ्तार बढाउन आग्रह गरिरहेका बेला सामसङको योजना कार्यान्वयन हुनलागेको हो । ह्वाइटहाउसका अधिकारीहरुले नयाँ प्लान्टले आपूर्ति शृंखलालाई जोगाउन सघाउ पुग्ने, उत्पादन आधारलाई बलियो बनाउने र रोजगारी सिर्जनामा मद्दत दिने बताएका छन् ।

‘हाम्रो राष्ट्रिय र आर्थिक सुरक्षाका लागि सेमिकन्डक्टर चिपको घरेलु उत्पादन बढाउनु निकै महत्वपूर्ण छ’, अमेरिकी वाणिज्य मन्त्री जिना राइमोन्दोले भनिन् । टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटले ट्विट गर्दै सामसङलाई टेक्ससले स्वागत गर्ने बताए । उनले सामसङको योजनाबारे पनि उल्लेख गरेका छन् । जसअनुसार सामसङले टेक्ससको टेलरमा प्लान्ट बनाउनेछ । यसमा १७ अर्ब अमेरिकी डलर पुँजी लगानी रहँदा हजारौँले रोजगारी पाउने उनले उल्लेख गरेका छन् । एबटका अनुसार टेक्ससमा यो नै अहिलेसम्मकै ठूलो प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।

एक फरक वक्तव्यमा टेक्ससको गभर्नरको कार्यालयले सामसङलाई दुई करोड ७० लाख अमेरिकी डलर राज्यमा रोजगारी सिर्जनाका लागि अनुदानस्वरुप उपलब्ध गराउने बताएको छ । उक्त प्लान्टमा बन्ने चिप प्रविधिको दायराअनुसार मोबाइल, फाइभजी, उच्च प्रस्तुति दिने कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्सअनुसारको हुनेछ । सामसङ विश्वका ठूला चिप उत्पादकमध्ये एक हो । अमेरिकामा यसका २० हजार कर्मचारी छन् । सामसङले पछिल्लो घोषणासँगै कम्पनीको कुल लगानी अमेरिकामा ४७ अर्ब डलर पुग्ने जनाएको छ ।

विश्वभर चिप अभाव गहिरिँदा उत्पादकहरुलाई समस्या परिरहेको छ भने कार उत्पादक कम्पनीहरुले कति उत्पादन गृह बन्द नै गर्नुपरेको छ । सँगसँगै ताइवानी चिप उत्पादक टीएसएमसीले पनि अमेरिकाको एरिजोना राज्यमा एक खर्ब डलर लगानी गर्ने घोषणा एक वर्षअघि नै गरेको थियो । त्यस्तै अर्को कम्पनी ग्लोबलफाउन्डरले पनि न्युयोर्कमा आफ्नो लगानी वृद्धि गर्ने बताएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया