Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदर्जन बढी चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा

दर्जन बढी चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा


वासिङटन । बाइडेन प्रशासनले चिनियाँ कम्पनीहरुमाथिको दबाब बढाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षामा दख्खल दिनसक्ने भन्दै एक दर्जन बढी कम्पनीलाई व्यापारिक कालोसूचीमा राखिएको हो ।

द यूएस कमर्स डिपार्टमेन्टले गत बुधबार यस्तो निर्णय लिएको हो । राखिएकामध्ये केही कम्पनीले चिनियाँ सेनाको आधुनिकीकरणलाई सहयोग गरेको आरोप डिपार्टमेन्टले जनाएको छ । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी उदाउँदा प्रविधिहरु चिनियाँ सेनालाई सहयोग गर्ने क्वान्टम कम्प्युटिङमा प्रयोग हुनबाट जोगाउने अंशस्वरुप यस्तो कदम चालिएको हो ।

वाणिज्य विभागका अनुसार चीनको डेटालाई कोडमा रुपान्तरण गर्न या रुपान्तरित कोडलाई डेटामा ल्याउन सक्ने क्षमतातर्फ पनि यो कदम लक्षित रहेको बतााइएको छ । चीन र पाकिस्तानका धेरैलाई यो सूचीमा राखिएको बताइएको छ । पाकिस्तानको आणविक गतिविधि वा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा योगदानका लागि उनीहरुलाई कालोसूचीमा राखिएको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच खटपट सुरु भएको थियो ।

बाइडेन राष्ट्रपति बनेपछि पनि यसले निरन्तरता पाएको छ । भर्खरै चीन र अमेरिकाका राष्ट्रपतिले भर्चुअल सम्मेलन गरेका थिए । त्यसमा जलवायु परिवर्तन, कच्चा तेलको सञ्चितिलगायतमा सहकार्य गर्ने सहमति भएको थियो ।

यद्यपि बाइडेन प्रशासनले चीनविरुद्ध धेरै दबाब राख्न नसकेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । गत अप्रिलमा बाइडेन प्रशासनले सात चिनियाँ व्यवसायलाई चिनियाँ सेनासँग सम्बन्ध रहेको भन्दै प्रतिबन्धित गरेको थियो । चीनले भने अमेरिकी निर्णयको आलोचना गरेको छ । गत बिहीबार नै चिनियाँ विदेश मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिक्रिया दिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया