Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पको सामाजिक सञ्जालले उठायो १ अर्ब डलर

ट्रम्पको सामाजिक सञ्जालले उठायो १ अर्ब डलर


अमेरिका ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जालले लगानीकर्ताहरुबाट एक अर्ब डलर संकलन गरेको छ । ट्रम्पको नयाँ सामाजिक सञ्जाल भेन्चरले सेयरबजारमा सूचीकृत हुनुअघि नै उक्त रकम संकलन भएको जनाएको हो ।

द ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले ‘ट्रुथ सोसल’ नामक सामाजिक सञ्जाल अर्को वर्षको सुरुतिर ल्याउने तयारी गरिरहेको छ । ट्विटर र फेसबुकजस्ता अहिलेका चर्चित सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि ट्रम्प आफ्नै सामाजिक सञ्जाल ल्याउने तयारीमा थिए ।

‘एक अर्ब डलरले सेन्सर लगाउने र राजनीतिक विभेद गर्ने ठूला प्रविधि कम्पनीलाई गतिलो सन्देश दिएको छ’, उनले भनेका छन्, ‘हाम्रो ब्यालेन्ससिट विस्तार भएसँगै ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप ठूला कम्पनीको अत्याचारसँग लड्न बलियो हुनेछ ।’

ट्रम्पले यही वर्षको सुरुमा ट्रुथ सोसल लन्च गर्ने तयारी गरेका थिए । यसले राजनीतिक आस्थाकै आधारमा कसैलाई विभेद नगर्ने उनले बताउँदै आएका छन् । ट्रम्पको उक्त ग्रुपले खाली चेक प्राप्तिसम्बन्धी कम्पनी डिजिटल वल्र्ड एक्विजिसनसँग मिलेर भेन्चर कम्पनी बनाएको हो ।

शनिबार उनीहरुले विभिन्न संस्थागत लगानीकर्ताबाट एक अर्ब डलर संकलन गरेको बताएका छन् । तर लगानीकर्ताबारे भने अहिले खुलाइएको छैन । रिपोर्टहरुका अनुसार उक्त सोसल मिडिया भेन्चर अहिले नै चार अर्ब अमेरिकी डलर मूल्यवान् कम्पनी भएको छ ।

योसँगै विवादै विवादका बीच पनि पूर्वराष्ट्रपति ट्रम्पले अझै पनि बलियो लगानी आकर्षित गर्ने क्षमता राख्ने देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया