Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविना कसुर ४० वर्ष भारतीय जेल बसेका नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति दिन अदालतको आदेश

विना कसुर ४० वर्ष भारतीय जेल बसेका नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति दिन अदालतको आदेश


पश्चिम बंगाल (भारत) । भारतको कलकत्ता उच्च अदालतले मंगलबार ४० वर्ष विना अपराध जेलजीवन बिताएका नेपालीलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । गत मार्चमा ४१ वर्ष लामो समय जेल जीवन बिताएका दिपक जोशीलाई उक्त क्षतिपूर्ति दिन आदेश दिएको हो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तवव र न्यायाधीश राजर्षि भारद्वाजको इजलासले यस्तो आदेश गरेको भारतीय अनलाइन लाइभल डट इनले जनाएको छ ।

जोशी सन् १९८० मे १२ मा पक्राउ परी गत मार्चमा रिहा भएका थिए । उनले ४० वर्ष लामो जेलजीवन बिताउनुपरेको थियो । उनलाई जेलमा राख्नुको कारण नै नखुलेपछि रिहा गरिएको थियो । उनको मानसिक स्वास्थ्य अवस्था ठीक नभएको र अदालतमा आफूविरुद्धको अभियोगसँग लड्न सक्ने नसक्नेमा ध्यानाकर्षण भएको थियो । गत मार्चमा अदालतको आदेशसँगै जोशी डम डम सेन्ट्रल करेक्सनल होमबाट मुक्त भएका थिए । अहिले उनी आफन्तको सम्पर्कमा पुगिसकेका छन् ।

गत मार्च २२ मा कलकत्ता उच्च अदालतले राज्य सरकारलाई उनलाई दिनुपर्ने क्षतिपूर्ति दिएको जानकारी गराउन भनेको थियो । डिसेम्बर ७ मा काउन्सिल फर द हाइकोर्टले वेस्ट बंगाल करेक्सनल सर्भिसेज प्राइजनर्स (अनन्याचुरल डेथ कम्पेन्सेसन) स्किम २०१९ अनुसार निर्दोषले पाउनुपर्ने अधिकतम क्षतिपूर्ति दिन भनेको थियो । यसअनुसार अधिकतम क्षतिपूर्ति ५ लाख भारु हुने जनाइएको छ ।

यो मुद्दामा राज्य सरकारले थप मुद्दा नलड्ने र उक्त रकम जोशीलाई दिने निर्णय लिएको थियो । जोशी अहिले नेपाल आइसकेका छन् । अदालतले क्षतिपूर्ति रकम दिपक जोशीकै खातामा छ हप्ताभित्र जम्मा गर्न आदेश दिएको उक्त अनलाइनले समाचारमा जनाएको छ । यो क्षतिपूर्ति रकमले जोशीको अन्य अधिकारमा कुनै असर नगर्ने पनि किटान गरेको छ । यससम्बन्धी थप सुनुवाइ सन् २०२२ फेब्रुअरी १७ का लागि तोकिएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया