Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरस : चीनले वित्तीय प्रणालीमा पैसा अभाव रोक्न २२ अर्ब डलर राख्ने

कोरोना भाइरस : चीनले वित्तीय प्रणालीमा पैसा अभाव रोक्न २२ अर्ब डलर राख्ने


बेइजिङ, माघ २०
चीनले पछिल्लो समय फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै २२ अर्ब अमेरिकी डलर अर्थतन्त्रमा प्रवाह गर्ने भएको छ । बीबीसीका अनुसार सोमबार उक्त रकम बजारमा पठाउन लागेको हो । चीनको केन्द्रीय बैंकका अनुसार यसले बजारमा पैसाको अभाव हुन दिनेछैन । त्यस्तै मुद्रा बजारलाई समेत अस्थिर हुनबाट जोगाउने अपेक्षा गरिएको छ । आइतबारसम्म उक्त भाइरसका कारण चीनमा ३ सय ५ जनाको ज्यान गइसकेको छ भने १४ हजार मानिस संक्रमित भएका छन् । मृतकमध्ये एक जनाको मृत्यु चीनबाहिर भएको हो ।

चिनियाँ अर्थतन्त्र भाइरस फैलिनुअघि नै सुस्ताइरहेको थियो । वित्तीय नियामकहरुले भाइरसको असर अर्थतन्त्रमा पनि पर्न सक्ने अनुमान गरेका छन् । यद्यपि छोटो समयका लागि यसको असर पर्न सक्नेछ । तर विश्लेषकहरुका अनुसार अहिले भाइरसकै कारण चीनका मुख्य सहरहरु बन्दप्रायः अवस्थामा छन् । आर्थिक गतिविधि हुने सहरहरु बन्द हुँदा त्यसको असर अर्थतन्त्रमा पर्ने देखिएको छ । नयाँ वर्षको समयमा चीनको यात्रा र पर्यटन क्षेत्रलाई भाइरस संक्रमणले असर गरेको छ । सहरमा सिनेमाहरु बन्द छन् भने कतिपय कम्पनीहरुले उत्पादन समेत बन्द गरेका छन् । फक्सकोन, टोयोटा, स्टारबक्स, म्याकडोनाल्ड, फक्सवागन जस्ता बहुदेशीय कम्पनीहरुले व्यावसायिक क्रियाकलाप रद्द गरेका छन् ।

गत वर्ष चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत थियो । जुन तीन दशकयताकै थोरै हो । विशेषतः अमेरिकासँगको व्यापारयुद्धका कारण आर्थिक वृद्धिदर सुस्त भएको थियो । हाल अमेरिकासँग चीनले व्यापारयुद्ध रोक्ने गरी पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेको छ । सोलगत्तै कोरोना भाइरसको संक्रमण देखापरेको हो । सोमबार चिनियाँ केन्द्रीय बैंकले कुल १२ खर्ब युआन वित्तीय प्रणालीमा राख्नेछ । बैंकले अन्य कदमहरु पनि चालेको छ ।

भाइरस संकट गहिरिँदैं गर्दा केन्द्रीय बैंकले बैंकहरुलाई ३ खर्ब युआन उपलब्ध गराएको छ । उक्त रकम भाइरसका कारण प्रभावित कम्पनीलाई सापटीका लागि हो । भाइरसविरुद्ध आयात हुने सामग्रीमा समेत करछुट दिइएको छ । यसमा कतिपय अमेरिकी वस्तु समेत रहेका छन् । चिनियाँ बजार नयाँ वर्षको विदासँगै सोमबारदेखि पुनः खुल्दै छ । जनवरी २३ यता देशको सेयर, मुद्रा, बन्ड बजारहरु बन्द रहेका छन् । गत शुक्रबार नै खुल्ने भनिए पनि विदा समय थप गरिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया