Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२०२१ मा उत्तर कोरियाली ह्याकरले ४० करोड डलर चोरे !

२०२१ मा उत्तर कोरियाली ह्याकरले ४० करोड डलर चोरे !


लन्डन । उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४० करोड अमेरिकी डलरबराबरको डिजिटल सम्पत्ति चोरी गरेको एक रिपोर्टले दाबी गरेको छ । भर्चुअल मुद्राहरुमाथि कम्तीमा सातपटक आक्रमण गरी उनीहरुले उक्त परिमाणको सम्पत्ति चोरेका हुन् ।

ब्लक चेन विश्लेषक कम्पनी चेनएनालाइसिसले उत्तर कोरियाली साइबर अपराधीहरुका लागि सन् २०२१ एउटा सफल वर्ष भएको बताएको छ । यी आक्रमणको निशानामा धेरैजसो लगानीसम्बन्धी कम्पनी र केन्द्रीकृत विनिमयलाई पारिएको बताइएकाके छ । उत्तर कोरियाले भने ती आक्रमणमा आफ्नो कुनै पनि संलग्नता अस्वीकार गर्दै आएको छ ।

‘सन् २०२० देखि २०२१ सम्ममा उत्तर कोरिया जोडिएको ह्याक–घटनाको संख्या चारबाट बढेर सात पुगेको छ । र यी ह्याकबाट निकालिएको सम्पत्ति समेत ४० प्रतिशतले बढेको छ’, चेनएनालाइसिसले एक रिपोर्टमा भनेको छ । ह्याकरहरुले धेरै शैली प्रयोग गरेको पाइएको छ । त्यसमा ‘फिसिङ ल्युर्स’, ‘कोड एक्सप्लोइट्स’ र मालवेयर छन् । यी शैलीबाट उनीहरुले कम्पनीहरुको सम्पत्ति चोर्न सफल भएका छन् । ती सबै उत्तर कोरिया नियन्त्रित ठेगानामा सारिएको कम्पनीले जनाएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कमा जोडिने हुँदा ह्याकिङका लागि सहज हुने गरेको छ । ती सबै भर्चुअल मुद्रा पठाउन र लिन प्रयोग हुने गरेका छन् । यसले प्रयोगकर्तालाई कति टोकन आफूसँग छ भनेर हेर्न अनुमति मिल्छ ।

धेरै विज्ञहरुले ठूलो परिमाणको क्रिप्टोकरेन्सी दिनदिनै ‘कोल्ड’ वालेटमा पठाउन आवश्यक नरहेको बताएका छन् । कोल्ड वालेट भनेका ठूलो इन्टरनेटमा नजोडिएका हुन्छन् ।

चेनएनालाइसिसले गत वर्ष भएका धेरैजसो साइबर आक्रमण लाजारस ग्रुपले गरेको हुनसक्ने बताएको छ । यो ग्रुपलाई अमेरिकाले प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ । यो ग्रुपलाई उत्तर कोरियाको प्राइमरी इन्टेलिजेन्स ब्युरो ‘द रेनासा जनरल ब्युरो’ले नियन्त्रण गर्ने गरेको विश्वास गरिन्छ । यो ग्रुपलाई यसअघिका ‘वानाक्राइ’ -यान्समवेयर आक्रमणमा संलग्न रहेको आरोप लगाइएको थियो । यसले अन्तर्राष्ट्रिय बैंक र ग्राहकको खाता तथा सन् २०१४ को सोनी पिक्चर्समा भएको साइबर आक्रमण गरेको आरोप लागेको थियो ।

‘जब उत्तर कोरियाले ह्याक भएका फन्ड प्राप्त गर्छ, उनीहरुले सोचविचार गरी शुद्धीकरणको प्रक्रियामा जान्छन् र पैसा निकाल्छन्’, गत वर्षको साइबर आक्रमणबारे प्रतिवेदनमा उल्लेख छ ।

उत्तर कोरियाको प्रतिबन्धको निगरानी गर्ने एक राष्ट्रसंघीय प्यानेलले प्योङयाङले चोरिएका ती कोषहरु अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै आफ्नो आणविक र ब्यालिष्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सघाउन प्रयोग गरिरहेको आरोप लगाएको थियो । गत वर्ष फेब्रुअरीमा अमेरिकाले तीन उत्तर कोरियाली कम्प्युटर कार्यक्रमविरुद्ध पैसा र क्रिप्टोकरेन्सी चोर्न एक अर्ब ३० करोड डलरभन्दा धेरैको ठूलो ह्याकिङ गर्नखोजेको भन्दै प्रतिबन्ध लगाएको थियो । त्यो साइबर आक्रमणबाट बैंकदेखि हलिउड मुभी स्टुडियोहरुमा असर पुगेको डिपार्टमेन्ट अफ जस्टिसले भनेको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया