Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरस संक्रमण : चीनद्वारा अमेरिकी वस्तुको आयात शुल्क आधा कटौती

कोरोना भाइरस संक्रमण : चीनद्वारा अमेरिकी वस्तुको आयात शुल्क आधा कटौती


बेइजिङ, माघ २४
चीनले बिहीबार १७ सय १७ वटा अमेरिकी वस्तुको आयात शुल्कमा आधा कटौती गरेको छ । गत वर्ष बढाइएको कर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि चीनले घटाएको हो । अमेरिकासँग भएको पहिलो चरणको व्यापार सम्झौताकै कार्यान्वयनका रुपमा यसलाई हेरिएको छ ।

चीनको अर्थ मन्त्रालयले वक्तव्य जारी गर्दै केही वस्तुमा १० प्रतिशतबाट ५, ५ प्रतिशतबाट २.५ मा कटौती गरिएको जनाएको हो । घटाइएको कर दर फेब्रुअरी १४ बाटै लागू हुनेछ । यसले ७५ अर्ब अमेरिकी डलरबराबरका वस्तुमा प्रभाव पर्नेछ । एक अर्को छुट्टै वक्तव्यमा अर्थ मन्त्रालयले अमेरिकासँगको सहमतिअनुसार नै निर्णय लिइएको बताएको छ । यसपछिका कदमहरु दुई देशको एकअर्काप्रतिको व्यवहारबाट निर्देशित हुने पनि बताइएको छ । नयाँ नियमपछि सोयाबिनको कर ३० प्रतिशतबाट २७.५ प्रतिशतमा झर्नेछ । यद्यपि यसको निकै कम मात्रै सकारात्मक प्रभाव पर्ने व्यापारीहरुले बताएका छन् । यसअघि लगाइएको २५ प्रतिशत कर कायमै रहेकाले कम प्रभाव पर्ने बताइएको हो । त्यस्तै कच्चा तेलको आयात शुल्क २.५ प्रतिशतमा झरेको छ ।

यसअघि गत सेप्टेम्बरमा ५ प्रतिशत बनाइएको थियो । यद्यपि यो लागू भने हुन पाएन । गत डिसेम्बर १५ देखि लागू हुने भनिए पनि त्यसअघि नै पहिलो चरणको व्यापार सम्झौता भएपछि रोकिएको थियो । चीनको पछिल्लो निर्णयलाई विश्लेषकहरुले आवश्यक कदम भनेका छन् ।

पछिल्लो समय फैलिएको कोरोना भाइरसको असर अर्थतन्त्रमा निकै कम मात्र परोस् भन्ने उद्देश्यले चीनले लगानीकर्तालाई प्रोत्साहन गरी वित्तीय बजारलाई चुस्त बनाउने प्रयास जारी राखेको थियो । केही दिनअघि मात्रै वित्तीय प्रणालीमा अर्बौँ रकम राखेर चीनले पैसाको अभाव रोक्ने प्रयासस्वरुप कदम चालेको थियो । त्यस्तै चीनले पहिलो चरणको व्यापार सम्झौतामा भए अनुसार कतिपय नियम कोरोना भाइरसको कारण देखाउँदै कार्यान्वयन समय पछि धकेलिने व्यवस्था लागू हुनसक्ने संकेत समेत गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया