Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीले रोक्यो रुसी नर्ड स्ट्रिम २ पाइपलाइनको प्रमाणीकरण

जर्मनीले रोक्यो रुसी नर्ड स्ट्रिम २ पाइपलाइनको प्रमाणीकरण


बर्लिन । मंगलबार पश्चिमा राष्ट्रहरुले रुसको ठूलो ऊर्जा उद्योगलाई निशाना बनाउन तयार रहेको बताएका छन् । आफूमाथि चोट पुगे पुगोस् भन्दै उनीहरु रुसविरुद्ध एक हुने संकेत गरेका छन् । खासगरी रुसले आफ्ना सेनालाई युक्रेनका पूर्वी भूभागमा तैनाथ गर्ने निर्णयपछि । जर्मनीले रुसी ग्यास पाइपलाइन परियोजना नर्ड स्ट्रिम २ को प्रमाणीकरण नै रोक्ने बताएको छ ।

बर्लिनले मस्कको पूर्वी युक्रेनसम्बन्धी निर्णयलाई लिएर यस्तो निर्णय लिएको हो । ‘पछिल्लो घटना विकास क्रमलाई मध्यनजर गर्दै पाइपलाइन प्रमाणीकरणको प्रशासनिक कदम रोक्दै छौँ’, चान्सलर ओलाफ स्कोल्जले भने । सात सय ५० माइल लामो पाइपलाइन गत सेप्टेम्बरमै सम्पन्न भएको थियो । तर अहिलेसम्म यसले जर्मन नियामकबाट अन्तिम प्रमाणीकरण प्राप्त गरेको छैन । त्योविना प्राकृतिक ग्यास बाल्टिक समुद्रको पाइपलाइनमा रुसबाट जर्मनीसम्म आउन सक्दैन ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, युक्रेन र धेरै युरोपेली संघका देशहरुले सन् २०१५ मा यसको घोषणा भएदेखि नै विरोध गर्दै आइरहेका थिए । यो परियोजनाले युरोपमा मस्कोको प्रभाव बढ्ने भन्दै उनीहरु विरोधमा थिए ।

नर्ड स्ट्रिम २ ले प्रतिवर्ष ५५ अर्ब क्युबिक मिटर ग्यास ल्याउन सकिन्छ । त्यो भनेको जर्मनीको वार्षिक उपभोगको ५० प्रतिशतभन्दा धेरै हो र यो रुसी राज्यनियन्त्रित कम्पनी गाजप्रोमको लागि १५ अर्ब अमेरिकी डलरभन्दा धेरै हो । यही कम्पनीले पाइपलाइनको स्वामित्व लिएको छ । रुसको सबैभन्दा ठूलो ग्यास उपभोक्ताको रुपमा जर्मनीले यो परियोजनालाई विश्व राजनीतिबाट अलग राख्दै आएको छ । तर यसका पक्षराष्ट्रले युक्रेनमाथि रुसले गर्ने आक्रमणविरुद्ध मस्कोलाई कसरी दण्डित गर्ने भनिरहेका बेला बर्लिनले यसलाई रक्षा गर्न झन् गाह्रो भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आफ्ना सेना पूर्वी युक्रेन पठाउने निर्णयले जर्मनलाई कठिन निर्णय लिन बाध्य बनाएको छ । अमेरिकी अधिकारीहरुले त रुसी आक्रमण भए यो परियोजना नै खारेज गर्नेसम्मको चेतावनी दिएका छन् । यद्यपि उनीहरुले यो कसरी सम्भव होला, खुलाएका छैनन् ।

यो परियोजनाको ठूलो सेयर सदस्य गाजप्रोम हो तर पाँच युरोपेली कम्पनीहरुले यसमा ५० प्रतिशतभन्दा धेरै लगानी गरेका छन् । यसमा जर्मनीकै विन्टरशल र युनाइपर पनि छ । अन्य कम्पनीमा बेलायतको शेल, फ्रान्सको इन्जी र अस्ट्रियाको ओएमभी रहेका छन् ।

मध्य तथा पूर्वी युरोपमा ऊर्जा जहिल्यै राजनीतिक मुद्दा हो । जहाँ ऊर्जा आपूर्तिमा रुसले ठूलो भूमिका खेल्छ । युरोपमा यो जाडो मौसममा प्राकृतिक ग्यासको मूल्यले कीर्तिमानै कायम गरेको छ भने अब युक्रेनमा संघर्ष चर्किँदा उपभोक्तालाई झन् कष्ट थप्नेछ ।

अहिलेसम्म गत वर्षकै हाराहारी रुसबाट युरोपमा प्राकृतिक ग्यास आपूर्ति हुन सकेको छैन । त्यसमाथि पश्चिमा राष्ट्रले आफूमाथि लगाउने प्रतिबन्धको प्रतिक्रियामा रुसले यसलाई झन् धेरै प्रयोग गर्न सक्छ । ‘रुसी ग्यास आपूर्तिमा अवरोध आउने निश्चित छ । मस्कोले ग्यास पम्प गर्न छोड्न सक्छ’, युरेसिया ग्रुपका विश्लेषकहरुले मंगलबार नै लेखेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया