Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसैनिक कमान्डोको गोलीबाट २६ जनाको मृत्यु, ५७ घाइते

सैनिक कमान्डोको गोलीबाट २६ जनाको मृत्यु, ५७ घाइते


बैंकक, माघ २७
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन् । उनले आइतबार दिएको जानकारी अनुसार शनिबार भएको उक्त घटनामा अरु ५७ जना घाइते भएका छन् । उक्त घटनमा गोली चलाउने सैनिकको पनि मृत्यु भएको छ । देशको नाकोर्न रात्चासिमा सहरमा रहेको एउटा किनमेल केन्द्र (सपिङ मल) मा एक जना मानसिक अस्वस्थ सैनिक कमान्डोले अन्धाधुन्ध गोली चलाएका थिए ।

ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ । फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए । फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ ।

जक्रफन्थ थोम्मा नामक ती व्यक्तिलाई पनि सुरक्षाकर्मीहरुले मारिदिएका छन् । हतियारधारी ती सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीका क्रममा उनको मृत्यु भएको जनाइएको छ । स्थानीय समय अनुसार शनिबार ९.३० बजेतिर प्रहरीले ३२ वर्षीय ती बन्दुकधारी मारिएको पुष्टि गरेको हो । ती बन्दुकधारीलाई भवनको पछिल्तिरबाट भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो । आत्मसमर्पण गर्न लगाउन उनकी आमालाई पनि त्यहाँ लगिएको थियो । शनिबार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेको अहिलेसम्मको अनुसन्धानबाट देखिएको अधिकारीहरुले बताएका छन् ।  (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया