Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप७७ र राष्ट्रसंघको सहयोग

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप७७ र राष्ट्रसंघको सहयोग


बेइजिङ, माघ २९
चीनमा देखा परिरहेको प्राणघातक संक्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिए । उनले गु्रप७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन् ।

त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । सिन्ह्वाका अनुसार यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो । संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरेका प्रयासहरुको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ ।

चीनले यस भाइरसको संक्रमण रोक्न हालसम्म ४० हजार सामुदायिक कार्यकर्तालाई अग्रपंक्तिमा परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका थिए । नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।

पत्रकार सम्मेलनमा उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिए । आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस संक्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरुका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महत्वपूर्ण मञ्चहरुमा छलफल जारी रहेको जानकारी दिए । ती सबै मञ्चहरुमा उपस्थित भएका जि७७ तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि तथा प्रमुखहरुले चीनको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका पनि उनले जानकारी दिए ।

उनले जि७७ का सबै राष्ट्रले चीनलाई आवश्यक पर्ने सहयोगका लागि तत्परता नै देखाएको जानकारी उनले दिए । उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य कार्यहरुको पहिचान गरेर चीनमै पुगेर र आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको उनको भनाइ थियो । हाल चीनले यो संक्रमणविरुद्धमा निकै नै कडा मिहिनेत गरेर काम गरिरहेको बताइएको छ ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । यो संक्रमण उक्त प्रान्त बाहिर एवं अन्य देशमा समेत देखापरिरहेका समाचारहरु प्राप्त भइरहेका छन् । यस संक्रमणबाट सोमबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया