Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार३० वर्ष व्यवसायपछि रूसबाट बाहिरिँदै म्याकडोनल्ड

३० वर्ष व्यवसायपछि रूसबाट बाहिरिँदै म्याकडोनल्ड


मस्को  । चर्चित फास्टफुड कम्पनी म्याकडोनल्डले रुस छोड्ने भएको छ । ३० वर्षसम्म व्यवसाय गरेको कम्पनीले स्थायी रुपमा रुसमा व्यवसाय नगर्ने भएको हो । कम्पनीले आफ्ना रेष्टुराँको बिक्री समेत थालिसकेको बताएको छ ।

मार्च महिनामा आफ्ना साढे आठ सय आउटलेटहरु अस्थायी रुपमा बन्दे गरेको कम्पनीले अहिले सदाका लागि रुस छोड्ने निर्णय गरेको हो । युक्रेन युद्धले मानवीय संकट र व्यवसाय सञ्चालनको अकल्पनीय अवस्थालाई कारण देखाउँदै यस्तो निर्णय लिनुपरेको कम्पनीको भनाइ छ ।

सन् १९९० मा कम्पनीले मस्कोमा पहिलो रेष्टुराँ खोलेको थियो । त्यसको एक वर्षपछि सोभियत युनियन भत्किएको थियो भने रुसले पश्चिमा कम्पनीहरुलाई आफ्नो अर्थतन्त्रसँग खुल्ला गरेको थियो । त्यसको तीन दशकपछि रुस छोड्ने कम्पनीहरुको संख्या बढ्दै गएको छ ।

‘यो एकदमै जटिल कुरा हो’, म्याकडोनल्डका प्रमुख कार्यकारी क्रिस केम्पजिन्स्कीले कर्मचारी र आपूर्तिकर्तालाई सन्देश पठाउँदै भनेका छन्, ‘केहीले खाद्य पहुँच उपलब्ध गराउने र दशौँ हजार साधारण नागरिकलाई निरन्तर रोजगारी दिने तर्क गरिरहेका छन्, त्यो गर्नु साँच्चै राम्रो हो ।’

‘तर युक्रेनमा युद्धले सिर्जना गरेको मानवीय संकटलाई बेवास्ता गर्नु असम्भव छ । र यसले गोल्डेन आर्कले प्रस्तुत गरेको त्यही आशा र प्रतिबद्धताले ३२ वर्षअघि हामीलाई रुसी बजारमा प्रवेश गर्न दिएको कल्पना गर्न असम्भव छ’, उनले थपे ।

म्याकडोनल्डले आफ्ना सबै साइटहरु स्थानीय क्रेतालाई बिक्री गर्ने र रेष्टुराँहरुको डिआर्किङको प्रक्रिया थाल्ने बताएको छ । यसमा नाम, ब्रान्ड र मेनु हटाउनेसम्मका कामहरु पर्नेछन् । रुसमा आफ्नो ट्रेडमार्क आफैँले राख्ने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले कुनै पनि बिक्री पूरा नभएसम्म आफ्ना ६२ हजार कर्मचारीलाई तलब दिने जनाएको छ । उनीहरुलाई अब किन्ने कम्पनीले रोजगारी दिने सुनिश्चितता समेत कम्पनीले गर्ने भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया