Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगहिरिँदै श्रीलंका संकट : प्रधानमन्त्रीले गरे सहकार्यको आव्हान

गहिरिँदै श्रीलंका संकट : प्रधानमन्त्रीले गरे सहकार्यको आव्हान


कोलम्बो । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले सोमबार साँझ एक सन्देशमा भने, ‘यतिखेर देश निकै नै अप्ठ्यारो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ ।’ दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक संकटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ । उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कफ्र्यु आदेश जारी गरिएको छ ।

सरकारले घोषणा गरेको कर्फ्यु सोमबार बेलुका ८ बजेदेखि लागू भई बिहान ५ बजेसम्म कायम रहने भएको छ । विभिन्न आरोपमा झण्डै दुई सय मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यु आदेश जारी गरेको हो ।

विशेष गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाँडै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया