कोलम्बो । चरम आर्थिक संकट खेपिरहेको श्रीलंकाले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । संकट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ । खाद्यान्न संकटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने वाचा गरेका छन् ।
गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निर्णयले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन ।
यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुनसक्छ, तर आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन् । ‘परिस्थितिको गम्भीर्यलाई स्वीकार गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
श्रीलंकाले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन् ।
‘दुई महिनामा के हुन्छ म भविष्यवाणी गर्न सक्दिन’, श्रीलंकालीहरूको भविष्य अनिश्चित बनेको पीडा पोख्दै उनी भन्छिन्, ‘सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ, ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ ।’
ग्यास सिलिण्डरको पसरलमा पाँचसय जना लामबद्ध भए पनि करिब त्यहाँ करिब दुईसय सिलिन्डर छन् । पाँच जनाको परिवारको भरणपोषण गर्दै आएका मोहम्मद साजली तीनदिनदेखि ग्यास पाइने आशामा लाममा बसेका छन् । आंशिकरुपमा सवारी साधन चलाएर अर्थोपार्जन गर्ने उनलाई घरव्यवहार चलाउन धौ–धौ भएको छ । उनी भन्छन् –बिना ग्यास, मट्टितेल हामी केही गर्न सक्दैनौँ । अन्तिम विकल्प खानाबिना मर्ने हो ।
केन्द्रीय बैंकका गभर्नरले भने विश्व बैंकसँग ऋण लिएर इन्धन र खाना पकाउने ग्यास ढुवानीका लागि भुक्तानीको व्यवस्था गरिएको बताए पनि आपूर्ति सहज हुन सकेको छैन । आगामी दुई महिनामा मुद्रास्फीति थप बढेर ४० प्रतिशतसम्म पुग्न सक्ने बताउँदै उनले ठूलो मात्रामा आपूर्तिको दबाबले तत्काल समस्या समाधानका संकेत नदेखिएका जनाएका छन् ।
यो महिना खाद्यान्नको मूल्य ४६.६ प्रतिशतले बढेर मुद्रास्फीति २९.८ प्रतिशत पुगेको छ । सरकारविरुद्ध आक्रोश फैलिएपछि बिहीबार कोलम्बोमा सयौँ विद्यार्थी प्रदर्शनकारीलाई पछाडि धकेल्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिरहेका छन् ।
गत हप्ता प्रधानमन्त्री पदबाट राजीनामा दिएका राष्ट्रपति राजापाक्षे र उनका भाइ महिन्दाको सरकारले पर्यटनमा आधारित अर्थतन्त्र, तेलको मूल्यमा भएको वृद्धि र लोकतान्त्रिक कर कटौतीका कारण कोभिड–१९ महामारीले देशमा आर्थिक संकट उत्पन्न भएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।
सात आर्थिक शक्तिहरूको समूहले श्रीलंकाको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि श्रीलंकामा विकसित घटनाक्रमलाई नजिक नियालिरहेको र आगामी मंगलबार कोलम्बोलाई ऋण उपलव्ध गराउनेसम्बन्धी वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको बताएको छ । (रासस/रोयटर्स) (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया