Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व अर्थतन्त्र मन्दीको नजिक : विश्व बैंक

विश्व अर्थतन्त्र मन्दीको नजिक : विश्व बैंक


अमेरिका । विश्व बैंकका प्रमुखले युक्रेनमाथि रुसको आक्रमणले विश्व अर्थतन्त्रलाई मन्दीउन्मुख गराइरहेको बताएका छन् । खाद्य, ऊर्जा र मलको मूल्य आकाशिँदै गर्दा विश्व बैंकले यस्तो चेतावनी दिएको हो ।

बैंकका प्रमुख डेभिड माल्पासले अमेरिकी व्यावसायिक कार्यक्रममा बुधबार निम्तिँदो मन्दी टार्न कठिन रहेको बताए । चीनमा शृंखलाबद्ध रुपमा भइरहेका लकडाउनले विश्व अर्थतन्त्रलाई सुस्त बनाएको पनि उनले सो कार्यक्रममा बताए । उनको प्रतिक्रिया विश्व अर्थतन्त्र संकुचनमा गइरहेको छ भन्ने पछिल्लो चेतावनी हो । ‘विश्वको कुल गार्हस्थ्य उत्पादनलाई हेर्ने हो भने हामी कसरी मन्दी टार्दै छौँ भन्न गाह्रो छ’, उनले भने ।

तर उनले विशेष प्रक्षेपण नै भने गरेनन् । ‘ऊर्जा क्षेत्रको मूल्य दोब्बरले बढ्दै जाँदा यो नै मन्दीका लागि पर्याप्त देखिन्छ’, माल्पासले थपे । गत महिना विश्व बैंकले आफ्नो विश्व आर्थिक वृद्धिको प्रक्षेपण यो वर्षका लागि झण्डै एक प्रतिशतले घटाएर ३.२ प्रतिशत मात्र रहने बताएको थियो । जीडीपी आर्थिक वृद्धिको मापन हो । कसरी अर्थतन्त्र अघि बढ्दै छ भन्ने यो महत्वपूर्ण मापन हो । जीडीपीलाई नै केन्द्रीय बैंक र अर्थशास्त्रीहरुले विशेष चासोसाथ हेरिरहेका हुन्छन् ।

यसले व्यवसायहरुलाई कहिले विस्तार गर्ने, धेरै कामदार बनाउने वा कम लगानी गर्ने र कार्यबल घटाउनेबारे निर्णयमा सहयोग गर्छ । सरकारहरुलाई समेत यही आधारमा करदेखि बजेट खर्चसम्म के गर्ने भन्ने निर्णय लिन सघाउँछ । त्यस्तै केन्द्रीय बैंकहरुले पनि यही आधारमा ब्याजदर बढाउने र घटाउने निर्णय लिन्छन् । माल्पासले अहिले पनि धेरै युरोपेली देशहरु तेल र ग्यासमा रुससँग निर्भर रहेको बताए । पश्चिमा राष्ट्रहरु रुसी ऊर्जासँगको निर्भरता कम गराउन अनेक प्रयास गरिरहँदा समेत अझै यी देश निर्भर नै रहेको उनको भनाइ छ ।

अमेरिकी चेम्बर अफ कमर्सले आयोजना गरेको भर्चुअल कार्यक्रममा पनि उनले ग्यास आपूर्ति काट्ने रुसी कदमले उक्त क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्ने बताए । जर्मनीजस्ता ठूलो अर्थतन्त्र भएका युरोपेली देशमा ऊर्जा मूल्य बढिरहेको बताए । विकासोन्मुख देशहरुमा मल, खाद्य र ऊर्जाजन्य सामग्रीको अभाव खेपिरहेको पनि उनले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया