Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्धन र बिजुलीको मूल्य बढेपछि पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

इन्धन र बिजुलीको मूल्य बढेपछि पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित


इस्लामावाद । इन्धन र बिजुलीको महसुलमा व्यापक वृद्धिका कारण आफ्नो तलब वृद्धिको माग गर्दै सोमबारदेखि पाकिस्तानी सरकारी कर्मचारीहरूले देशको अर्थ मन्त्रालय बाहिर धर्ना दिने तयारी गरेका छन् ।

सरकारी कर्मचारीहरूको गठबन्धनले उनीहरूले आगामी बजेटमा तलब वृद्धिको लागि दबाब दिन अर्थ मन्त्रालय बाहिर टोकन धर्ना दिन लागेको डन अखबारले उल्लेख गरेको छ । कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि गर्नुपर्ने अखिल सरकारी कर्मचारी महासंघका प्रमुख संयोजक रहमान बाजवाले बताएका छन् ।

‘हाम्रो टोकन धर्नाको उद्देश्य कर्मचारीको समस्यामा सरकारलाई सचेत गराउने हो । यही जुन ९ गते हुने धर्नामा देशैभरका हजारौं कर्मचारीको सहभागिता रहनेछ’, उनले भने । सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ६० रुपैयाँले बढाएपछि अन्य वस्तुको मूल्य पनि बढेको हो । त्यसैले मुद्रास्फीति अनुसार सरकारी कर्मचारीको तलब बढाउनुपर्ने उनको भनाइ छ ।

बाजवाले सरकारले गत वर्षको तदर्थ राहत खारेजी र नियमित तलबमा समावेश गर्ने सहमति कार्यान्वयन गर्ने आश्वासन नपाएसम्म कर्मचारीले हडताल फिर्ता नगर्ने बताएका छन् ।

‘कर्मचारीहरू गैरराजनीतिक हुन्, हामीलाई राजनीतिसँग कुनै सरोकार छैन तर हामी आफ्नो अधिकारका लागि सडकमा उत्रिनेछौँ’, बाजवाले भने ।
सेहबाज शरिफको सरकारले इन्धनको मूल्यमा कुल ४० प्रतिशत वृद्धि र बिजुलीको प्रतियुनिट महसुलमा ४७ प्रतिशत वृद्धि गरेको बेला यो धर्ना कार्यक्रम बाहिर आएको हो ।

मुद्रास्फीति दर गगनचुम्बी भएपछि, क्रेडिट रेटिङ एजेन्सी मुडीज इन्भेस्टर सर्भिसेजले पाकिस्तानको दृष्टिकोणलाई पहिलेको ’स्थिर’ रेटिङबाट ’नेगेटिभ’मा डाउनग्रेड गरेको छ र देशको ‘बढ्दो बाह्य जोखिम’लाई उद्धृत गरेको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारी मूल्य वृद्धिका लागि सरकारको आलोचना गरेका छन् । ‘आयातित सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४० प्रतिशत वा ६० रुपैयाँ बढाएको छ, यसले जनतामा नौ खर्बको भार बढ्नेछ ।

साथै, बिजुलीको मूल्यमा आठ रुपैयाँ वृद्धिले सिंगो देशलाई स्तब्ध बनाउनेछ । मुद्रास्फीति ७५ वर्षमा सबैभन्दा बढी ३० प्रतिशत हुने अपेक्षा गरिएको छ,’ इमरान खानले ट्वीटमा लेखेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया