Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाका झण्डै पाँच करोड मानिसलाई खाद्य सहायता आवश्यक

श्रीलंकाका झण्डै पाँच करोड मानिसलाई खाद्य सहायता आवश्यक


कोलम्बो । श्रीलंकाको कुल जनसंख्याको २२ प्रतिशत वा ४.९ करोड मानिसहरूलाई अहिले खाद्यान्न सहायताको आवश्यक रहेकोे संयुक्त राष्ट्रसंघीय एक उच्च अधिकारीले शुक्रबार बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर–हम्डीले श्रीलंकामा हालको खाद्य सुरक्षा स्थितिमा दबाब दिन विभिन्न कारकहरू अन्तरक्रिया गरिरहेका बताए । ‘हामीले कम आय भएका परिवारहरू सबैभन्दा बढी प्रभावित भएको र कठिन परिस्थितसँग सामना गर्ने रणनीतिहरू अपनाएको पनि देखेका छौँ’, सिंगर–ह्यामडीले डेली मिरर पत्रिकासँगको एक अन्तर्वार्तामा भने ।

रासायनिक मलको अभावका कारण सन् २०२१/२०२२ मा धान बालीमा ४० देखि ५० प्रतिशतसम्म कमी आएको उनले बताइन् । संयुक्त राष्ट्रस्ंघीय आवासीय प्रतिनिधिले थपे, ‘अप्रिल २०२१ मा रासायनिक मल आयातमा प्रतिबन्ध लगाउने प्रारम्भिक निर्णयदेखि प्रतिबन्ध अघिको अवधिको तुलनामा मल आयातमा खर्च झन्डै ६० प्रतिशतले घटेको छ ।’

पहिले माथिल्लो मध्यम आय भएको देश श्रीलंकाले स्वतन्त्रता पछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । मे महिनामा खाद्य मुद्रास्फीति ५७.४ प्रतिशत रहेको छ भने प्रमुख खाद्य वस्तुहरूको अभावका साथै खाना पकाउने, यातायात र उद्योगको लागि इन्धनको अभाव व्यापक रहेको छ ।

दैनिकरूपमा विद्युतको आपूर्तिमा समस्या चलिरहेको छ । उत्पादनमा आधारभूत आगतको उपलब्धता नपुगेको, सन् २०२२ मार्चदेखि मुद्राको ८० प्रतिशत मूल्य ह्रास भएको र विदेशी सञ्चितिको अभाव रहेको छ । देशले आफ्नो अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण अर्थतन्त्र तीव्र संकुचनको अवस्थामा रहेको छ ।

आर्थिक संकटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ । बीउ, मल, इन्धन र ऋणको अभावले गर्दा खाद्यान्न उत्पादन जोखिममा परेको छ । हाल झण्डै पचास लाख मानिस (२२ प्रतिशत जनसंख्या) लाई खाद्यान्न सहयोगको खाँचो छ । हालैका सर्वेक्षणहरूले देखाएअनुसार ८६ प्रतिशत परिवारहरूले खाद्यान्न संकटका कारण समस्या भोगिरहेका छन् ।

श्रीलंकामा अहिले करिब दुई सय अत्यावश्यक औषधिहरूको अभाव भएको र आगामी दुईदेखि तीन महिनामा अर्को एक सय ६३ वटा औषधिहरूको अभाव हुने अनुमान गरिएको छ । यसबाहेक, दुई हजार सात सयभन्दा बढी आवश्यक शल्यक्रिया र दुई सय ५० भन्दा बढी नियमित प्रयोगशालाका सामानहरूको पनि स्टक अभाव देखिएको छ ।

विद्युत् भार कटौती र जेनेरेटर सञ्चालन गर्न इन्धनको अभावका कारण धेरै अस्पतालले नियमित र अविलम्ब शल्यक्रिया तथा प्रक्रिया स्थगित गर्नुपर्ने बाध्यता रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया