Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबिटक्वाइनको मूल्य २३ हजार डलर मुनि

बिटक्वाइनको मूल्य २३ हजार डलर मुनि


लण्डन । बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य मंगलबार ह्वात्तै घटेको छ । मुद्रास्फीतिसँग जुध्न ब्याजदर बढ्ने डरसँगै लगानीकर्ताले जोखिमपूर्ण मानिने यी मुद्राबाट हात झिकेपछि डिजिटल मुद्राको मूल्य घटेको बताइएको छ ।

विश्वका दुई ठूला क्रिप्टोकरेन्सी प्लटेफर्महरुले सोमबार बजार अझै घट्नसक्ने देखेर गतिविधिमा कडाइ गरेका थिए । १७ लाख ग्राहक रहेको द सेल्सियस नेटवर्कले सबै विथड्रहरु छोटो समयका लागि रोकेको जनाएको छ । कम्पनीले क्रिप्टो स्वापहरु र ट्रान्सफर पनि रोकेको थियो ।

‘हाम्रो कारोबारलाई फाइदाका लागि आवश्यक कदम चालिरहेका छौँ, यो तरलता र सेवालाई स्थिरता दिनका लागि भएकाले आवश्यक कदम चालेर सम्पत्तिको सुरक्षा गर्नेछौँ’, एक ब्लगपोस्टमा कम्पनीले भनेको छ ।

बेलायतमा दर्ता भएको कम्पनीमा तीन अर्ब ७० करोड डलरबराबरको सम्पत्ति रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ । कम्पनीले क्रिप्टोकरेन्सी डिपोजिटमा ब्याज दिन्छ र तिनलाई ऋणको रुपमा प्रदान गरी कमाउँछ ।

महामारीपछि फस्टाएको क्रिप्टो बजार ओरालो लाग्न थालेको छ । विश्वका केन्द्रीय बैंकहरुले बढ्दो महंगीको सामना गर्न ब्याजदर बढाइरहँदा व्यापार कारोबारी जोखिमपूर्ण लगानीको सुरक्षामा लागेका छन् । त्यसमा अस्थिर क्रिप्टो सम्पत्ति पनि पर्छन् ।

मंगलबार विश्वकै महंगो क्रिप्टोकरेन्सी बिटक्वाइन पनि आठ प्रतिशतले घटेको छ । योसँगै प्रतिबिटक्वाइन मूल्य २३ हजार अमेरिकी डलरभन्दा मुनि पुगेको छ । शुक्रबारमात्रै कम्पनीले आफ्नो २५ प्रतिशत मूल्यक्षति व्यहोरेको थियो ।

नोभेम्बरमा गत वर्ष हालसम्मकै उच्च विन्दुमा पुगेको बिटक्वाइन अहिले ६७ प्रतिशतले झरिसकेको छ । त्यतिखेर यसको मूल्य प्रतिबिटक्वाइन ६९ हजार अमेरिकी डलर पुगेको क्वाइनबेसको तथ्यांकले देखाएको छ । त्यस्तै दोस्रो मूल्यवान् मानिएको एथर पनि शुक्रबारयता चार प्रतिशतले घटेको छ । नोभेम्बरयता एथर ७५ प्रतिशतले सस्तिएको छ ।

विश्वको ठूलो क्रिप्टोकरेन्सी विनिमय बजार बाइनान्सले सोमबार केही घण्टाका लागि कारोबार बन्द गरेको थियो । केही स्थिर मानिएका परम्परागत सम्पत्तिहरु समेत जोखिममा देखिएको बताइएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया