Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलिया र न्युजिल्यान्डमा जीएमको व्यवसाय बन्द

अस्ट्रेलिया र न्युजिल्यान्डमा जीएमको व्यवसाय बन्द


न्युयोर्क/बेइजिङ, फागुन ७
अमेरिकी सवारीसाधन निर्माता जनरल मोटर्स कम्पनीले अस्ट्रेलिया र न्युजिल्यान्डमा व्यवसाय बन्द गरेको छ । त्यस्तै थाइल्यान्डको प्लान्ट पनि बिक्री गरेको छ । विश्वव्यापी व्यवसायलाई पुनर्संरचना गर्ने गरी कम्पनीले यस्तो निर्णय लिएको हो । त्यसका लागि कम्पनीले १ अर्ब १० करोड डलर खर्च हुने बताएको छ । कम्पनीले नाफामा नरहेको बजारमा व्यवसाय नगर्न यस्तो कदम चालेको बताइएको छ । यसले कम्पनी अमेरिका, चीन, ल्याटिन अमेरिका र दक्षिण कोरियाली बजारमै बढी केन्द्रित हुनसक्ने देखिएको छ ।

त्यस्तै कम्पनीले दक्षिण पूर्वी एसियामा व्यवसाय विस्तारलाई पनि हाल स्थगित गरेको छ । पछिल्लो कदमले कम्पनीको नाफा बढ्ने बताइएको छ । जीएमले सन् २०१९ को खराब अवस्थाबाट सन् २०२० मा छुट्कारा मिल्ने अनुमान पनि गरेको छ । कम्पनीको अबको योजना विद्युतीय र स्वचालित कार विकास गर्ने रहेको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा कम्पनीको व्यवसाय बन्द हुँदा ६ सय रोजगारी गुम्नेछ । त्यस्तै थाइल्यान्डको व्यवसाय बिक्रीले कम्पनीको १५ सय रोजगारीमा प्रभाव पर्नेछ । कम्पनीले यसअघि नै इन्डोनेसियाबाट ब्रान्डेड कार उत्पादन बन्द गरिसकेको छ । अफ्रिकी बजारबाट पनि कम्पनी बाहिरिसकेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया