Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसका अधिकांश संक्रमण मध्यम : अध्ययन

कोरोना भाइरसका अधिकांश संक्रमण मध्यम : अध्ययन


बेइजिङ, फागुन ७
चीनमा नयाँ कोरोनाभाइरसबाट संक्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका संक्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको संक्रमणको जोखिम प्रायः वृद्ध बिरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन् ।

गत वर्ष मध्य चीनको वुहान सहरमा देखा परेकोले कोभिड–१९ को संक्रमण पुष्टि भएका एक हजार नौ सय व्यक्तिको मृत्यु भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको संक्रमण पुष्टि भएको छ । चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा संक्रमण पुष्टि भएका, आशंका गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार तीन सय १४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो ।
अधिकांश बिरामीले आफूलाई कति बेला संक्रमण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भइसकेको भेटिएको जनाएका थिए ।

यो डिसेम्बरमा प्रकोप सुरू भएको नयाँ कोरोना भाइरसका बिरामीहरूमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन् । यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सीसीडीसी)द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका विरामीमा यसको संक्रमण धेरै देखिएको छ ।

अध्ययनले ८०.९ प्रतिशत संक्रमणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई गम्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ । संक्रमणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ । यो उमेर समूहका नागरिकको मृत्यु कोरोना भाइरसबाट संक्रमित कुल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ ।

अध्ययनअनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोरोना भाइरसको जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीहरूमा पनि जोखिम उच्च देखिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेमा नौ वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ । तर दुई शिशुमा उनीहरूको आमाबाट संक्रमण भएको थियो । त्यस्तै नौ देखि ३९ वर्ष उमेर समूहका नागरिकमा संक्रमणको प्रतिशत ०.२ रहेको उल्लेख छ । संक्रमणको जोखिम उमेरले जति पाको भयो त्यति बढी भेटिएको छ । नयाँ कोरोना भाइरसको संक्रमण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

संक्रमणका कारण मृत्यु हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल विरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन् । भाइरसका कारण समग्रमा मृत्यु दर २.३ प्रतिशत रहेको छ । संक्रमित व्यक्तिको ८६ प्रतिशत व्यक्ति कि त वुहानका वासिन्दा रहेको वा वुहान भ्रमण गरेका भेटिएको छ ।

वुहानको जङ्गली जनावरको मासु बेच्ने ‘सीफुड’ बजार नै समस्याको मुख्य कारण भएको बताइएको छ । समस्या उत्पन्न भएको भनिएको चीनको मध्यक्षेत्रको हुबेई प्रान्तको राजधानी र वरपरका क्षेत्रलाई जनवरी २३ गतेदेखि अन्य क्षेत्रको प्रत्यक्ष सम्पर्कबाट अवरूद्ध बनाइएको छ ।

रिपोर्टमा कुल तीन हजार १९ जना स्वास्थ्यकर्मीहरूको लक्षणका आधारमा संक्रमण परीणण भएको र यसमध्ये एक हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ । फेब्रुअरी ११ सम्ममा पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो भने मङ्गलबार वुहानमा रहेको एक अस्पतालका निर्देशकको मृत्यु भएको छ । तथ्यांकअनुसार स्वास्थ्यकर्मीमध्ये एक हजार ६८८ लाई गम्भीर खालको संक्रमण देखिएको छ भने उनीहरूमध्ये अधिकांश अर्थात् ६४ प्रतिशत स्वास्थ्यकर्मी वुहानमा कार्यरत हुन् । तर संक्रमित स्वास्थ्यकर्मीको संख्या जनवरी २८ मा ३८.९ प्रतिशत पुगेकोमा फेब्रुअरीको पहिलो सातामा नै १२.७ प्रतिशत झरेको थियो ।

वुहानका एक आँखा रोग विशेषज्ञ लि वेनलियाङलाई भाइरसबारे बाहिरी बजारमा हल्ला फैलाएको भन्दै ‘अधिकारीले सजाय दिँएका कारण’ मृत्यु भएको भन्ने पश्चिमी मुलुकका कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लि वेनलियाङलाई पनि कोरोनाको संक्रमणका कारण उपचार हुँदै गर्दा मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

रोगको प्रकोप जनवरी २४ देखि २६ सम्ममा उच्च विन्दुमा पुगेको तर पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ । नयाँ रोगी आउने क्रम फेब्रुअरी ११ पछि घट्दो क्रममा रहेको छ । नयाँ वर्ष मनाउन लाखौँ चिनियाँहरू घर फर्केका कारण भाइरस देशभर फैलिएको थियो । विज्ञहरूले धेरै मानिसहरू बिदाबाट फर्किदा देशले ‘महामारीको सम्भावित पलटाव’ को लागि तयारी गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरसले ‘समय बित्दै जाँदा अझ बढी विषालु बन्न सक्छ’ भन्ने रिपोर्टले चेताउनी दिन्छ र डाक्टरहरुलाई ‘सतर्क रहन’ आग्रह गर्दछ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया