Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएचएसबीसी बैंकले ३५ हजार रोजगारी कटौती गर्ने

एचएसबीसी बैंकले ३५ हजार रोजगारी कटौती गर्ने


लन्डन, फागुन ७
चर्चित एचएसबीसी बैंकले ३५ हजार रोजगारी कटौती गर्ने भएको छ । नाफामा ठूलो गिरावटलाई कारण देखाउँदै कम्पनीले उक्त योजना बनाएको बताएको हो । बैंकले सन् २०२२ सम्म साढे ४ अर्ब अमेरिकी डलर खर्च बचाउने योजना बनाएको छ ।

बैंकले कम्पनी पुनर्संरचना गर्ने प्रयासका रुपमा यसलाई लिएको बताइएको छ । बैंकका अन्तरिम प्रमुख कार्यकारी नोइल क्विनले कम्पनीले आगामी ३ वर्षभित्र २ लाख ३५ हजारबाट कर्मचारी कटौती गर्दै २ लाखमा झार्ने योजना बनाएको बताए । बैंकले आम्दानीको ठूलो हिस्सा एसियाबाटै संकलन गर्छ । गत वर्ष कम्पनीले करसहित वार्षिक मुनाफा १३ अर्ब ३५ करोड डलर संकलन गरेको थियो ।

युरोपमा गरेको लगानीबाट गत वर्ष मुनाफामा असर गरेको बैंकले जनाएको छ । गत वर्ष बैंकको ७ अर्ब डलर नाफा कम भएको बैंकले जनाएको छ । कटौती गर्ने भनिएको ३५ हजार रोजगारी अनुमान गरिएभन्दा धेरै भएको बताइएको छ । यो भनेको कुल रोजगारीको १५ प्रतिशत हो । विश्लेषकहरुले १० हजार रोजगारी कटौती गर्न सक्ने अपेक्षा गरेका थिए ।

उक्त बैंक विश्वका ५० बढी देशमा सञ्चालन हुँदै आएको छ । मुख्य गरी उत्तर अमेरिका, युरोप, मध्यपूर्व र एसियामा बैंकको उपस्थिति छ । बैंकले ४० हजार बढी बेलायतीलाई रोजगारी दिएको छ । बेलायतमा बैंकको मुख्य कार्यालय रहेको छ । पछिल्लो समय फैलिएको कोरोना भाइरसको महामारीलाई पनि बैंकको यो निर्णयसँग जोडेर हेरिएको एजेन्सीहरुले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया