Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण एसियामा अमेरिकी डलरको जगजगी

दक्षिण एसियामा अमेरिकी डलरको जगजगी


काठमाडौं । दक्षिण एसियाली देशका मुद्रा अमेरिकी डलरको तुलनामा निकै कमजोर हुँदै गएका छन् । पछिल्ला दिनमा नेपाल, पाकिस्तान, भारतलगायतका देशमा अमेरिकी डलर कीर्तिमानी दरमा बलियो भएको पाइएको हो ।

नेपालमा अमेरिकी डलर तीव्र बलियो भएको छ । एक डलरको लागि मानिसहरुले १२४.६२ रुपैयाँ तिर्नुपर्ने र एक डलर बेच्दा १२५.२२ रुपैयाँ पाउने अवस्था भएको छ ।

यता बंगलादेशी टाका (मुद्रा)विरुद्ध पनि डलर निकै बलियो भएको बताइएको छ । द डेलिस्टार अनलाइनका अनुसार एक अमेरिकी डलरको तुलनामा टाका ९२.९५ पुगेको छ । बंगलादेशमा विनिमय दर ९२.९ टाका बराबर एक डलर रहेको छ । बंगलादेशी मुद्राको यो १६औँ अवमूल्यन भएको बताइएको छ ।

उता पाकिस्तानमा डलरले नयाँ कीर्तिमान कायम गरेको अनलाइन डनले जनाएको छ । सोमबार मात्र पाकिस्तानमा एक डलर बराबर दुई सय १० रुपैयाँ पुगेको थियो । फरेक्स एसोसिएसन अफ पाकिस्तानका अनुसार पाकिस्तानी मुद्रा उक्त दिन २.४५ रुपैयाँले घटेर हालसम्मकै बढी अवमूल्यन हुने क्रममा २१०.२ प्रतिडलर पुगेको थियो । गत शुक्रबार यो २०७.७५ रुपैयाँ प्रतिडलर मूल्यबराबर थियो ।

यता भारतमा पनि डलर बलियो भइरहेको छ । भारतीय मुद्राको तुलनामा डलर बलियो हुने क्रम जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । रिजर्भ बैंकले मंगलबारका लागि तोकेको दरअनुसार एक डलरबराबर ७८.०८६१ भारु रहेको छ । जुन महिनामा डलर लगभग उही स्थानमा रहेको आरबीआईको तथ्यांकले देखाएको छ ।

विदेशी मुद्रा सञ्चितिको चर्को अभाव खेपिरहेको अर्को दक्षिण एसियाली देश श्रीलंकामा पनि अमेरिकी डलर उस्तै बलियो अवस्थामा छ । त्यहाँको केन्द्रीय बैंकको तथ्यांकअनुसार एक अमेरिकी डलरबराबर ३६१.७५०० पुगेको छ । यो मंगलबारका लागि तोकिएको विनिमय दर हो । जुन महिनाको २१ दिनसम्म अमेरिकी डलरको तुलनामा श्रीलंकाली मुद्रा क्रमशः कमजोर बनिरहेको तथ्यांकले देखाउँछ ।

यता माल्दिभ्समा हप्तागत रुपमा नयाँ दर निर्धारण हुने गरेको छ । यसअनुसार एक अमेरिकी डलरबराबर यो हप्ता १५.४२ माल्दिभियन रुफिया पुगेको छ । माल्दिभ्स मनिटरी अथोरिटीका अनुसार अघिल्लो हप्ता अर्थात् जुन १६ मा यस्तो दर १५.३९ रुफिया रहेको थियो । उता भुटानमा अमेरिकी डलरको तुलनामा भुटनिज गुल्त्रुम प्रतिडलरको तुलनामा ७७/७८ सम्म पुगेको त्यहाँको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै अर्को दक्षिण एसियाली देश अफगानिस्तानमा प्रतिडलर बराबर ८९.८१२५ अफगान अफगानी (मुद्रा) पुगेको छ । मे महिनाको अन्तिम दिन यस्तो दर प्रतिडलरबराबर ८८.७७०५ थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया